अध्यक्ष नेपाल स्वदेश फिर्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८०
2.1K
SHARES

२२ असार काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन्। दिउँसो १२ बजे श्रीलंकन एयरको युएल १८१ उडानबाट उनी स्वदेश फिर्ता भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। उनका अनुसार श्रीलंकन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलंका प्रस्थान गरेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रम सिंघेसँग गरेको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको उनको सचिवालयले जनाएको छ। यसैगरी अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका थिए। प्रधानमन्त्री निवासमा करिब एक घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

उक्त शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको जनाउँदै दुवै देशले एक अर्कालाई आवश्यक सहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ।