म सभापतिलाई संस्था मान्दिनँ – नेता केसी
७ साउन काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति नै संस्था नभएको बताएका छन्। केही केन्द्रीय सदस्यले सभापति नै संस्था हो भन्ने हिसाबले धारणा राखेको उल्लेख गर्दै उनले त्यो कुरा मान्न आफू तयार नरहेको बताए।
‘सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ, संस्था भनेको विधि र पद्धतीलाई केन्द्रित गराएर एउटा समूहको संगठित आवाज हो,’ आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै केसीले भने, ‘सभापतिलाई संस्था मान्ने सोच हामीले राख्न हुन्न। संस्थाको प्रमुख सभापति हो। विधि र नियम भए सभापति बलियो हुन्छ। सहमति भनेको आत्मसमर्पण होइन।’
उनले पार्टिभित्र पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्ने बताए। उनले चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने बताए। ‘भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन गर्नुपर्छ,’ उनले भने, ‘नत्र हामी अर्को चुनावमा जनताका बीचबाट अस्वीकृत हुन्छौं।’ उनले गठबन्धनको वैशाकी चढेर चुनाव जान नहुने आफूले पहिले बताएको उनले उल्लेख गरे।