महराले छानबिनका लागि आफैंले सीआईबीमा निवेदन दिनुपर्छ – नेता दाहाल
१९ साउन काठमाडौं ।आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्यो । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू बैठकको आज तेस्रो दिन हो । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।
केन्द्रीय कमिटी सदस्य लेखनाथ दाहालले पदाधिकारीले बोलेका विषयलाई चिर्दै अध्यक्ष प्रचण्डलाई नै प्रश्न गरे । बैठकको उदघाटन भाषणमा पार्टी पार्टीजस्तो नभएको भनेका प्रचण्डलाई केन्द्रीय सदस्य दाहालको प्रश्न थियो, ‘अध्यक्ष कमरेडको तर्फबाट के गर्नुपथ्र्यो, के पुगेन ? तपाईंको तर्फबाट के गर्नुपथ्र्यो, के गर्न सक्नुभएको छैन ? पहिले यसको मनन गर्नुहोस् ।’
उनले बिगतमा पार्टी सत्ता र राजकीय सत्तामा रहेका नेताहरूको समीक्षा आवश्यक रहेको भन्दै पार्टी सुदृढीकरणको नारा र आरोप थुपार्ने कुराले मात्रै काम नगर्ने बताए ।
दाहालले उपाध्यक्ष कृष्णबहादुर महरामाथि उठेको सुन तस्करी प्रकरणमा आफू दोषि नभएको भनेर पन्छिन नमिल्ने भन्दै स्पष्टीकरण दिनुपर्ने माग गरे ।
‘सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा मुछिनुभएको छ । तर उहाँले दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि आफैंले सीआईबीमा निवेदन दिनुपर्छ’, दाहालले बैठकमा भने, ‘भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’