कांग्रेसलाई भेलले बगाउनबाट बचाउने हो भने , यी काम गर्नुपर्छ – युवराज बस्ताकोटी


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
3K
SHARES

२१ साउन काठमाडौ । लोकतान्त्रिक व्यवस्था , वहुलवादमा आधारित राज्य व्यवस्था र समतामूलक समाज निर्माण गर्ने भन्ने वीपी कोइरालाका सिद्धान्त बेचेर कांग्रेसले पटकपटक राज्य सत्ता हातमा लियो । जनताको मतको कति मान राख्यो ,छुट्टै वहस हुन सक्ला , तर पनि मानिसहरु कांग्रेस ,कम्युनिस्ट राजबाट सन्तुष्ट भएका रहेन्छन्। ४०% चानचुन कांग्रेस , ३५% चानचुन कम्युनिस्ट र बाँकी राजा तथा निष्पक्ष जनता रहेको भनिएको देशमा , आजको दिनमा २०-२१% मा सिमित कांग्रेस , स्वभाविक अवनति हुदै होइन ,यद्यपि २६% को मत परिणाम दावि गर्ने कानुनी बाटो अझै ४ वर्ष छ। अवस्था एउटै हुने छैन, वर्खाको भेल झैं, आएको डिजिटल क्रान्ति कति टिक्ला वा विक्ला वा सुक्ला,समयले वताउला ।

एउटा कुरा सत्य हो, बचपन बचपनमै सहि, यो बच्चाले सुक्दै गएका माऊ पार्टीहरुका निद हरण गरिरहेका छन् । मनमा एउटा पीडा राखेर हामी यति सिटमा छौं ,सरकारमा छौं , प्रमुख विपक्षी छौँ , भनिएको छ ,भनिने छ । एउटा राजनीति धर्म पनि हो कि आफ्ना बाँकी समर्थक, निरास बनेर आफ्नो समर्थन गर्न छाडि नहालुन्। कति टक्कर होला, यिनैले देलान वा नयाँ जरुवा पलाउला ,हेरौंला , अवस्था हेर्दा पधेंरा फेर्ने जनता लहर सजिलै बुझ्न सकिन्छ ।

जति नै गफ चुटे पनि कमरेड बाको पार्टी पनि पीडा भन्दा बाहिर छैन, कमरेड ललिता निवासहरुको अन्तिम वास सरकारी पाहुनाका रुपमा हुने, लोकतान्त्रिक समाजवादी भन्ने कांग्रेसका ठालु मध्ये ४०% जति पुर्व ठालुहरु सरकारी गेष्टहाउसमा किताब लेखेर बस्नुपर्ने अवस्था बढ्दैछ। पारिवारिक दशामा परेका प्रचण्डले देशको पक्षमा आँट गरे भने उनका पुर्व कमाण्डरहरुको अन्तिम प्रहर पनि सरकारी मेजमानीमा नै वित्ने निश्चित जस्तो छ। यदि उनले हिम्मत गरे भने उनको आफ्नो आधार ८-१० क्षेत्र त ज‍गाउलान्, अन्यत्र उनले मुण्टो उठाउन सक्ने सम्भावना टरेको छ। मधेस मसियाका नाममा लुट् मच्चाउन पल्किएकाहरुलाई माइकले बढार्ने सम्भब प्राय देखिँदा, सर्वाधिक पुरानो र मक्किएक‍ो कांग्रेसलाई रेक्टोफिटको मलमले जोगाउने प्रयास गरिमा जेनतेन बाँच्ला तर शक्ति पुनःस्थापनाका लागि यो मार्ग काफि नहुने निश्चित छ।

त्यसो भए, कांग्रेसलाई पुनःस्थापना गर्न के गर्नु पर्ला त ! सबैभन्दा पहिला त समतामूलक , समभावको सैद्धान्तिक भाषण छाँट्ने नेताहरुले समतामूलक भनेको केहो ? बुझ्न जरुरी छ र बाटो छाडेर डिलमा कसेर दृश्यावलोकन गर्नु उचित हुनेछ । यो उमेरका आधारमा होइन , अवसर प्राप्तिका आधारमा हुनुपर्ने छ। म र मेरा हुँदा ठिक अरुले चाहिँ त्याग गर्नुपर्छ भन्ने खाँड डक्ट्रिन ,सबैभन्दा पहिला त्याग्नु पर्ने , एटिच्युट हो ।

ती वाहेक यसरी अगाडि बढ्न सकिन्छ कि।

१) हाल सम्म नियुक्ति लिएका , सांसद मन्त्री भएका , एक जनाले पनि लोभ नगरी , सार्वजनिक लाभको पदमा नदोहोर्‍याउने निर्णय संकल्प गर्नुपर्छ । यसमा कार्यकारी प्रमुख भएका ३-४ जनालाई चाहिँ अपवाद मानेर एकपटकलाई अवसर छाड्नु पर्छ।

२) वैचारिक पुनर्निर्माण र विनिर्माण जरुरी छ । समयको खेलमा राजनीतिक चेतना र योगदान सहितको क्षमतालाई ऐतिहासिक अवसर प्रदान गर्न उदार हुनुपर्छ ।

३) पटकपटक अवसर लिएर केही उल्लेखनीय योगदान गर्न नसकेकाले सार्वजनिक रुपमा राजनीति माफि मागेर पार्टीको सो अवसरका लागि कृतज्ञता व्यक्त गर्दै अन्यायमा परेका राजनीतिक व्यक्ति तथा परिवारलाई खोजेर अवसर दिनुपर्नेछ ।

४) सहिद, अन्याय भोगिरहेका र संघर्षरत परिवार प्रति राजनीतिक माफि मागेर अवसर र अग्रता दिनुपर्नेछ ।

५) विवेक ,राजनीतिक चेतना र प्रतिबद्धता भएका लिजेण्ड व्यक्तिहरुलाई राजनीतिमा अगाडि लग्नुपर्छ।

६) पार्टीको संरचना भद्दा र भद्रगोल छ। यसको पुन:संरचना र पुन: व्याख्या गरेर अगाडि बढ्नुपर्छ ।

७) महाधिवेशन प्रतिनिधि भन्ने पद खारेज गरेर , अनिवार्य निर्वाचन प्रणालीमा निर्वाचित स्थानीय तह, क्षेत्र, जिल्ला तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यले फरक मतभारका आधारमा मत दिएर केन्द्रीय सभापति र अन्य नेता निर्वाचित गर्ने व्यवस्था हुनुपर्छ ।

८)स्थानीय वडा देखि केन्द्र सम्म पार्टीका पद समेत खरिद विक्रि हुने वा मत किन्ने बेच्ने गर्नका लागि गुण्डा वा दादागिरी गर्नेहरु प्रतिनिधि आउने,वा कब्जा गर्ने प्रणाली खारेज गरेर ,अनलाइनमा मत हाल्ने वा भयरहित निर्वाचनमा उठ्ने ,मत माग्ने, मत दिन पाउने व्यवस्था हुनुपर्छ। यसरी स्थानीय प्रतिनिधि आउँदा एउटा सुत्र अनुसार सदस्य संख्याको आधारमा हुनुपर्छ ।

९) भ्रष्टाचारी,तस्करी तथा अनियमितता गरेर पैसा कमाएकालाई केन्द्रीय नेताले भेट्ने, संगै रक्सि खाने, उसका लागि टिकट तथा अवसर मागि दिने कुकार्य रोक्न सदस्य देखि केन्द्रीय नेता सबैलाई आचारसंहिताले बाँध्नुपर्छ ।
सुधार्ने ,बचाउने वा झुण्डिएर बाँच्ने, अब पार्टीले लिने मार्गमा निर्भर रहेको तथ्य उजागर भएको यो अवस्था चुनौती मात्रै होइन , यसलाई छ‍ोपेर सफल कार्य गर्न सक्दा अवसर पनि हो । हेरौं, अपेक्षा सकारात्मक राखौं।