अध्यक्ष ओली छोरीहरूको कपडा किन्न अर्को महिना सपिङ जाने


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
1.8K
SHARES

२८ साउन काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’मा जाने भएका छन् ।मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दीक्षा दिइरहेका एमाले अध्यक्ष ओलीले उनीहरूका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन् ।

‘शनिवार स्कुल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्, आज पनि आएका थिए।  बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए, तर मेरो फुर्सद मिलेन,’ ओलीले सो भेट पछि भने, ‘घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो ।’

ओलीलाई आफ्नो निवासमा भेट्न आएका दुई किशोरीको तस्बिर हाल्दै अगाडी लेखेका छन्, ‘केही समय यिनीहरूसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरू ।’कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए ।

मुगुमा विद्यालय अनियमित भएर पढ्न नपाएपछि उनीहरूलाई ओलीले काठमाडौँको एक आवासीय विद्यालयमा पठन पाठनको व्यवस्था मिलाएका छन् ।विद्यालय बिदाको बेला सधैँ उनीहरू बालकोटमै गएर बस्ने गर्छन् । कहिले काहीँ ५ ७ दिनसम्म उनीहरू बालकोटमै बस्ने गरेको बताइएको छ ।

त्यतिमात्रै होइन ओलीले विभिन्न दुर्गम र मधेशका जिल्लाका गरिब २ दर्जन बालबालिकालाई अभिभावकत्व दिएर पढाइरहेका छन् ।