गृहमन्त्रीसॅंग झोक्किए देउवा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०
2.6K
SHARES

४ भदौ काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिए ।

आफ्नो पार्टीका नेता बालकृष्ण खाणको बचाउमा बोलेका देउवालाई आफ्नै उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले रोक्न खोज्दा पनि उनि मत्थर नभएको बैठकमा सहभागी एक नेताले बताए ।

“एक पटक हैन पटक–पटक नै उहाँ (देउवा) आक्रोशित हुनुभयो । कांग्रेसलाई थुन्ने अनि आफ्नो मान्छे बचाउने ? भन्दै उहाँ गृहमन्त्री माथि खनिनु भयो,” बैठकमा सहभागी ती नेताले भने । बैठकमा देउवाले २–३ पटक बालकृष्ण खाँणको नाम लिएका थिए भने महरा बाउछोरालाई किन बचाएको भन्दै प्रश्न गरेको ती नेताले बताए ।

“नाम के हो रे भन्दै महरा बाउछोराको नाम मिडियामा आएको र उनीहरुलाई पक्राउ नपरेको भन्दै आक्रोश पोख्नुभयो,” ती नेताले भने ।  देउवाको आक्रोश मत्थर नभएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आज सभापतिज्यूलाई के भएछ ? भन्दै वातावरण सामान्य बनाउन खोजेका थिए ।

“गृहमन्त्रीले सभापतिज्यूलाई के भएछ । के–के कुरा उठाउनुहुन्छ भन्नुभयो । एकपटक चाहिँ सबै विवरण सुनाउनुभयो तर, देउवा कूल हुनुभएन,” बैठकमा सहभागी अर्का एक नेताले भने ।  देउवालाई उपसभापति पूर्णबहादुर खड्काले पनि रोक्न खोजेका थिए ।

“अर्को पटक कुरा उठाउँला दाइ । यहाँ प्रसंग मिलेन भनेर पूर्णजीले भन्नुभयो । तर देउवाले केको विषय नमिल्ने ? विषय एउटै हैन ? बालकृष्ण पक्रिने आफ्नै पार्टीका नेतालाई छोड्न मिल्छ भन्नुभयो,” ती नेताले भने ।  प्रधानमन्त्री प्रचण्डले सदनको जारी गतिरोध अन्त्य गर्न बैठक बोलाएका थिए ।