सुन तस्करी प्रकरणमा महरा बाबु छोरामाथि पनि छानबिन गर्नुपर्छ – महामन्त्री शर्मा
७ भदौ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्ने बताएका छन्। बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब हुने अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘अहिले सिआईबीले गर्दै गरेको छलफल जुन छ, त्यसमा एक जना ठूलै पार्टीका नेता, पदाधिकारी, तर यो संसदको पूर्व सभामुख नै भएर बस्नुभएको व्यक्ति, उहाँको सयौँ, र उहाँका छोराको कयौँ पटक तस्करहरुसँग टेलिफोनमा छलफल भएको भन्ने मिडियामार्फत बाहिर आएको छ। अब अनुसन्धान गर्दैगर्दा त्यो विषयलाई नछोडियोस्। उहाँहरु निर्दोष नै हो भनेपनि निर्दोष प्रमाण गर्ने निकायले छानबिनका लागि दायरामा ल्याउनुपर्छ।’ सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन्।
साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको बताए। महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए।
उनले भने, ‘साउनमा सुन पक्राउ प¥यो, भदौमा सहमति भयो, असोजमा छानबिन समिति बन्ने भनेपछि यो प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरियो। तर रंगिन टालो भनिराखेर पनि चनिरहन्न चाहन्न। त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। साउनमा पक्राउ परेको सुनको सन्दर्भमा सिआईबीले जुन छानबिन गरिरहेको छ, त्यसलाई नै अघि बढाउने कुरामा अन्ततः प्रतिपक्ष सहमत भएर आयो। यो अन्तिममा सिआईबीलाई सघाएर जाने भन्नेकुरा हो।’ महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए।