अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचल्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २४ २०८१
6.6K
SHARES

२४ वैशाख काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध हत्याको अभियोगमा मुद्दा नचल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचलाउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पीडित दिएको जाहेरीलाई आधार बनाउँदै उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले उक्त निर्णय सदर गर्न उच्च सरकारी वकिलको कार्यालय सुर्खेतमा लेखेर पठाएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पदमबहादुर राउत, नरेश सिंह भन्ने मेहरमान सिंहलाई मुद्दा दर्ता गर्ने र पञ्चा सिंहसहित अरू चार जानको हकमा मुद्दा नचल्ने निर्णय भएको जिल्ला र उच्च सरकारी वकिल कार्यालयले स्वीकार गरेको छ । मुद्दा नचल्ने निर्णय हुनेमा पञ्चा सिंहसहित कटकबहादुर कार्की,  वीरबहादुर सिंह मल्ल र अली कार्की छन् ।

उनीहरूविरुद्ध मुद्दा नचल्ने निर्णय वैशाख ४ गते जिल्ला सरकारी वकिलको कार्यालयले गरेको थियो भने उच्च सरकारी वकिलको कार्यालयमा वैशाख १७ गते पठाएको थियो । जिल्लाले पठाएको उक्त निर्णयमा राय लेख्दै उच्च सरकारी वकिलको कार्यालयले वैशाख २२ गते थप निर्णयका लागि महान्यायाधिवक्ता कार्यालय पठाएको थियो ।