लाइसेन्सका समस्या तत्काल समाधान गर्नूस् – प्रधानमन्त्री
२४ वैशाख काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को वर्तमान अवस्था र समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई बोलाएर छलफल गरेका छन् ।सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले लाइसेन्सको वर्तमान अवस्था, विभागको सिस्टममा देखिएका समस्या, जनस्तरका विज्ञासालगायत विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् । त्यसक्रममा उनले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताए । त्यसलाई तत्काल सम्बोधन गर्न उनले निर्देशन दिए ।
“सवारीचालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन् । यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएकोलगायत गुनासो राख्ने गरेका छन्,” प्रधानमन्त्रीले भने, “लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यस्तो भएको छैन । नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु । यो समस्या तत्काल समाधान गर्नूस् ।”
उनले लाइसेन्सको डिजिटल सिस्टमलाई व्यवस्थित गर्न समेत निर्देशन दिए । उनले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ । तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नूस् । भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नूस् ।”त्यसक्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपाय अपनाउँदा यो क्षेत्रको समस्या समाधान हुन्छ भन्नेबारे ठोस सुझाव प्रस्तुत गर्न समेत निर्देशन दिए छलफलमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायत अधिकारीहरूको उपस्थिति थियो ।