जसपा अध्यक्ष उपेन्द्र यादवले कतारबाटै बोलाए संसदीय दलको बैठक
२४ वैशाख काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । यादवले सोमबार कतारबाटै सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहान संसदीय दलको बैठक राखिएको जानकारी गराएका हुन्। ‘अध्यक्षज्यूले संसदीय दलको बैठक मङ्गलवार बिहानका लागि बोलाउनुभएको छ । उहाँले कतारबाटै फोन गरेर भनेअनुसार बैठक राखिएको हो’, जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
न्युयोर्कमा आयोजना भएको विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव हिजो आइतबार कतार पुगेका थिए । यादव कतार रहेकै अवस्थामा उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । उनी सोमबार पनि कतारमै रहेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले यादव सोमबार राति कतारी समयअनुसार पाँच बजे स्वदेश फर्कने कार्यक्रम रहेको बताए ।
जसअनुसार यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समय अनुसार मङ्गलवार बिहान १ बजे काठमाडौँ अवतरण हुने छन् । त्यसअघि यादव एनआरएनए कतारले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाललगायत कतारमा रहेका सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको भट्टले बताए ।‘एनआरएनए कतारको कार्यक्रम भर्खर सकिएको छ । अब लञ्च सकेर केहीबेरको आरामपछि मन्त्रीज्यू यहाँको समयअनुसार साँझ ५ बजे नेपाल प्रस्थान गर्नुहुन्छ’, अध्यक्ष भट्टले सोमबार दिउँसो बताए ।