कांग्रेसले गण्डकी सरकारविरुद्ध दर्ता गरायो सर्वोच्चमा रिट


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २५ २०८१
1.7K
SHARES

२५ वैशाख काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वाेच्चमा रिट दर्ता गराएका हुन् ।गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् ।

“विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाइ विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१/०१/२३ मा विश्वासको मत लिने सम्बन्धमा सभामुखबाट भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,” रिट निवेदनमा उल्लेख गरिएको छ ।

संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।