आज एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
2.7K
SHARES

२६ वैशाख रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज कपिलवस्तु आउन लागेका छन् ।एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन उद्घाट तथा विजयनगर गाउँपालिकामा निर्मित स्वास्थ्य चौकी उद्घाटन गर्न उनी कपिलवस्तु आउन लागेका हुन् ।

आज र भोलि चन्द्रौटामा हुने अधिवेशनका लागि ५५९ जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनबाट नेतृत्वका लागि अहिलेका अध्यक्ष डम्मर शर्मा र यसअघिका प्रतिस्पर्धी बाबुराम खनालबीच नै प्रतिस्पर्धा रहेको छ । नेताहरुले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरेपनि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा त्यो सम्भावना कम रहेको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष डम्मर शर्मा पुनः एक कार्यकाल आफैले नेतृत्व लिने तयारीका साथ लागेका छन् । उनले आफ्नो कार्यकाल पूरा नभएका कारण पुनः अवसर पाउनुपर्ने भन्दै तयारी गरेका छन् । शर्मा २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी आगामी नेतृत्वका लागि यसअघिकै प्रतिस्पर्धी बाबुराम खनाल पनि बलियो दावेदारका रुपमा अगाडि सरेका छन् । एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुन् ।

गत अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित भएका थिए । यस्तै एमाले कपिलवस्तुका उपाध्यक्ष रहेका विश्राम प्रसाद थारु पनि अध्यक्षका दावेदार नेता हुन् । नेताहरुका अनुसार शर्मा र खनालबीच नै प्रतिस्पर्धा रहेको छ ।

उपाध्यक्षका लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालसहितका नेताहरुले तयारी गरेका छन् ।सचिवमा अहिलेका सचिव सिबी गहतराज, सचिवालय सदस्य विश्व कार्की, बुद्धभूमि नगर इन्चार्ज रहेका देवीप्रसाद बेल्वासे मुख्य आकांक्षीको रुपमा देखिएका छन् । उपसचिवका आकांक्षीहरु एक दर्जनभन्दा बढी छन् । उनीहरु व्यक्तिगत ढङ्गले प्रचारप्रसारलाई जोड दिएका छन् ।