पार्टी मैले फुटाउँदैछ भनेर प्रचार गरियो – सम्मानित नेता खनाल
२६ वैशाख काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको प्रष्टीकरण दिएका छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि नेकपा एस पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिएका हुन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’
पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्त्वहरूका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन्। उनले वर्तमान नयाँ सत्ता समीकरणमा समर्थन रहेको समेत जनाएका छन्।
