जिबी राई एमालेको मान्छे हो – दुर्गा प्रसाईं


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १२ २०८१
1.4K
SHARES

१२ जेठ काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् । एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलेमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको प्रसाईको दाबी छ ।

शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफू विरुद्ध सिङ्गो एमाले लागेको आरोप मात्र लगाएनन् युवा संघका इन्चार्ज बस्नेत मुछिएको यौन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको बताएका छन् ।

प्रसाईंले सहकारी ठगीमा सबैभन्दा धेरै एमालेका मान्छे रहेकाले एमाले छानबिन गर्न डराएको आरोप लगाएका छन् । प्रसाईंले भने, ‘सहकारीमा रास्वपा भनेको २ प्रतिशत हो, ३३ प्रतिशत कांग्रेस र ७० प्रतिशत सहकारीमा ठग्ने एमाले हो । किन आज सहकारीको छानबिन हुँदैन भन्दा एमालेले हुन दिँदैन । जिबी राई एमालेको मान्छे हो । सिबी लामा भनेको कांग्रेसको मान्छे हो, उसले संसद्मा टिकट दिन लागेको मान्छे हो । सबै पार्टीभित्रका मान्छे मिलेर सहकारीको पैसा लुटेर खाए । ’