प्रतिगामी सोचविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनु – अध्यक्ष ओली
२० जेठ काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भडकाउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरुले आक्रामक रुपमा प्रतिवाद गरेर अघि बढनुपर्ने ओलीको भनाई थियो । पार्टी निकट राष्ट्रिय युवा संघ, नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रतिगामीहरुले गरेका गलत प्रचारको खण्डन हुने गरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आवद्ध युवा–विद्यार्थीहरुलाई सचेत गराए ।
अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दैै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताए । उनले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देश गरे । जथाभावी ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न नहुने ओलीले बताए ।
तपाईहरुले प्रतिगामी सोचका विरुद्ध ओपन्ली, भोकल्ली, एग्रेसिभ्ली लाग्नुपर्छ । उनीहरुले एउटा प्रचार अभियान चलाएका छन । त्यसको विरुद्ध तपाईहरुले योजना बनाउनु पर्छ, तपाईहरु सँगठन र आन्दोलनको नेता मात्रै होइन, प्रचार अभियानको जिम्मेवार सेना बन्नुपर्छ’ उनले भने, जे पनि फेसबुकमा स्टाटस लेखेको छ । जे पनि कमेन्ट गरिदिएको छ । त्यस्तो खालको होइन, रेस्पोन्सिबल । किनभने तपाईहरु युथ मात्रै होइन, रेस्पोन्सिभल युथ हो । तपाईहरु राज्यप्रति जिम्मेवार हुनुपर्छ । मुलुक पछाडि फर्कन सक्दैन । पछाडि फर्काउने प्रयास सफल भएपनि टिक्दैन ।’
अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । मुलुकलाई संकटबाट जोगाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले आफूहरुले मिसन २०८४ को अभियानलाई अघि बढाएको पनि उनले स्मरण गराए ।