ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच कर्जा प्रवाहसम्बन्धी समझदारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २१ २०८१
1.9K
SHARES

२० असार काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने परियोजनाको बैंकिङ साझेदारीको रूपमा समेत रहनेछ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका हुन् । १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउनेछ । सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुने जनाइएको छ ।

इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्न यो कर्जा लिन सकिनेछ । वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।