त्रिविले निकाल्यो मौका परीक्षा सकिएको दुई हप्ताभित्रै नतिजा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
2.2K
SHARES

२१ साउन काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरिसकेको छ । कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । २ साउनदेखि ९ गतेससम्म सञ्चालन भएको वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षाको नतिजा साउन १३ गतेदेखि सुरु गरेर गत शनिबार सकिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

कार्यालयले प्रथम वर्षका अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र लगायतका विषयको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले भने, ‘विद्यार्थी कम थिए र परीक्षा पनि काठमाडौंमा मात्रै केन्द्र बनाएर सञ्चालन गरिएकाले नतिजा चाँडोे निकाल्न सकियो । तर अब ब्याक पेपरको मात्र नभएर सबैको समयमा निकाल्ने गरी काम गरिरहेका छौं ।’

यसअघि मौका परीक्षाको नतिजा सार्वजनिक हुन एक वर्षसम्म लाग्दै आएकोमा यो पटक दुई हप्ताभित्रै निकाल्न सकेकोले अन्य परीक्षाहरु पनि समयमा निकाल्न सकिने आत्मविश्वास बढेको उनले बताए ।परीक्षा नियन्त्रण कार्यालयको अनुसार वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षामा ७९६ जना परीक्षार्थीहरु सहभागी थिए ।