यी हुन नेपालका प्रमुख विमानस्थल


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २९ २०८१
4.5K
SHARES

२९ असोज काठमाडौं । हवाई उडान र हवाई यात्रुको चापको हिसाबले देशका प्रमुख विमानस्थलहरूको सूची नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको सन् २०२४ को पहिलो ६ महिनाको अवधिमा यात्रु संख्याको आधारमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र उडान संख्याको आधारमा त्रिभूवन आन्तरिक विमानस्थल शिर्ष स्थानमा रहेको छ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय तर्फ यो विमानस्थलमा १६ हजार ७६८ उडानमार्फत कुल २५ लाख ६५ हजार २९१ यात्रुले हवाई यात्रा गरेका छन् । यो आगमन र प्रस्थान दुबै तर्फको कुल योग हो । यसैगरी आन्तरिक तर्फ ५० हजार १७ उडान अवतरणमार्फत २२ लाख १५ हजार ६०७ यात्रुले यात्रा गरेका छन् ।

काठमाडौं बाहिरको विमानस्थलमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सर्वाधिक व्यस्त विमान स्थल हो । यात्रु संख्याका हिसाबले यो तेश्रो व्यस्त विमानस्थल हो । यो विमान स्थलबाट १२ हजार १८ पटक विमान ओहोर दोहोर गर्दा कुल ५ लाख १७ हजार ५९ यात्रुले हवाई यात्रा गरेका छन् । चाैथो व्यस्त विमानस्थलका रूपमा कोशी प्रदेशको राजधानी विराटनगरस्थित विमानस्थल रहेको छ। यो विमानस्थलबाट सन् २०२४ को जनवरीदेखि जुन महिनासम्म ५ हजार ६ सय ३६ उडान अवतरणबाट कुल ३ लाख १५ हजार ८७१ ले उडान सेवा लिएका छन् । यात्रु र उडान संख्याको अनुपातको आधारमा विराटनगर विमानस्थलमा प्रति उडान यात्रु संख्या पोखराको भन्दा अधिक रहेको छ। पोखरा क्षेत्रिय विमानस्थलबाट हिमाली भेगका लागि साना जहाज समेत उडान भर्ने भएकाले विराटनगरको उडान र यात्रु संख्याको अनुपात कम छ।

५ हजार ४२१ उडान अवतरणको साक्षी बनेको भैरहवास्थित गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँचाैं स्थानमा छ। यो विमानस्थलबाट कुल ३ लाख १५ हजार २१७ यात्रुले हवाई सेवा लिएका छन् । छैठाैं स्थानमा रहेको पश्चिम नेपालका लागि क्षेत्रिय विमानस्थलका रूपमा रहेको नेपालगञ्ज विमानस्थलबाट ५ हजार ९६५ पटक जहाज उडान र अवतरण गरेको छ। यो विमानस्थलबाट २ लाख २७ हजार ८ यात्रुले हवाई सेवा लिएका छन् ।साताैं स्थानमा रहेको भद्रपुरको चन्द्रगढी विमानस्थलबाट समिक्षा अवधिमा ३ हजार ४३८ पटक विमान उडान र अवतरण गरेको छ। यो विमानस्थल हुँदै  १ लाख ८२ हजार ५१३ यात्रुले सेवा लिएका छन् ।