त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ३ २०८१
2.5K
SHARES

३ पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । मंगलबार ओलीले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ । त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने प्रधानमन्त्री ओलीले भनेका छन् । ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ,’ प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए । उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छानबिन प्रतिवेदन बुझाएका थिए ।छानबिन समितिले २०१३ सालदेखि कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका त्रिविका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायहरुसमेत सुझाएको छ । समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ ।

प्रधानमन्त्री ओलीले त्रितालकै संयोजकत्वमा २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न आयोग गठन गरेको स्मरण गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।