५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ११ २०८१
3.3K
SHARES

११ पुस काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने भएका छन् । शनिवार दशरथ रङ्गशालामा हुन लागेको दीक्षान्त समारोहमा स्नातकतहदेखि पीएचडीसम्मका दीक्षित हुने १४ हजार ३०८ विद्यार्थी सहभागी हुन लागेका हुन् ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्रमाणपत्र वितरणका लागि विभिन्न ६३ वटा स्टल राखिनेछन् । व्यवस्थापन शंकायका विद्यार्थीहरूका लागि राष्ट्रिय खेलकुद परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा स्टल राखिनेछ भने बाँकी शंकायका लागि आर्मी क्लब नजिकैको क्षेत्रमा राखिनेछ ।

दीक्षान्त समारोहका आवश्यक तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो वर्ष दीक्षित हुनका लागि ७३ हजार विद्यार्थीको ग्रेसलिष्ट पास गरेको थियो । तर, तीमध्ये दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा सहभागी हुन आवेदन दिएका हुन् दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको सूची सार्वजनिक समेत गरेको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन शंकायका एमफील तहका हिरा श्रेष्ठले पाउने भएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् ।

त्यस्तै श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाउने भएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।

सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने भएकी छिन् । उनले ३.९० सीजीपीए ल्याएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाउने भएकी छिन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाउने भएकी छिन् ।शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले पाउने भएका छन् ।

उनले ३.८२ सीजीपीए ल्याएका छन् । डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाउने भएका छन् । उनले ३.८१ सीजीपीए ल्याएका छन् ।इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाउने भएकी छिन् । उनले ३.८० सीजीपीए ल्याएकी छिन् । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाउने भएकी छिन् । उनले ३.६८ सीजीपीए ल्याएकी छिन् ।

तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाउने भएकी छिन् । उनले ३.६७ सीजीपीए ल्याएकी छिन् । खगेन्द्रमान सिं प्रधान पदक एमए अर्थशास्त्र विषयमा पनि उनले नै पाउने परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख छ । चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाउने भएकी छिन् । तीन पदक पाउने भएकी उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी हुन् ।सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले पाउने भएकी छिन् । उनले ३.४५ सीजीपीए ल्याएकी छिन् । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । उनले ३.९९ सीजीपीए ल्याएका छन् ।

सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले नै पाएका छन् । लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले पाउने भएका छन् । ल क्याम्पसमा पढेका उनले ३.७१ सीजीपीए ल्याएका छन् ।शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीई सिभिलका शाशिष थापाले पाउने भएका छन् । उनले ८४.२१ प्रतिशत ल्याएका छन् । छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले पाएकी छिन् । उनले ८०.७० प्रतिशत ल्याएकी छिन् । सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट सङ्गीता प्रजापतिले पाउने भएकी छिन् । उनले ७५.१५ प्रतिशत ल्याएकी छिन् ।