सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १९ २०८१
1.9K
SHARES

१९ पुस बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ ।

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९–९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उनले भने, “आव २०६१–६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।

आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।