विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २४ २०८१
2.7K
SHARES

२४ पुस काठमाडौ । बिक्रेताले विद्युतीय भुक्तानीमा ग्राहकबाट वस्तु तथा सेवा बिक्रीको रकमबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी गरेको जनचेतनामूलक सूचनामा यसबारे जानकारी गराएको हो। ‘ग्राहकले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, क्यूआर कोर्ड वा पीओएस मेसिनजस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन’, सूचनामा भनिएको छ, ‘त्यस्तै बिक्रेताले पनि खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम असुल गर्नुहुँदैन।’

वस्तु तथा सेवाको बिक्रेताले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तान लिन गैरकानुनी रहेको राष्ट्र बैंकले जनाएको छ। ‘आयकर ऐन, २०५८ ले समेत त्यस्ता कार्य वर्जित गरेको हुँदा व्यावसायिक कारोबारको भुक्तानी व्यक्तिगत खाता तथा वालेटमा नगरौँ नगराऔँ अर्थात व्यावसायिक खातामै मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गराऔँ’, सूचनामा भनिएको छ।