डेढ दर्जन बैंकवित्तहरु समस्या ग्रस्त घोषित
२५ पुस काठमाडौं । बैंकवित्तहरु यतिबेला अधिक तरलता र खराब कर्जाको मारमा छन् । हालै मात्र अत्यधिक खराब कर्जाका कारण कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गरेको हो ।बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराबकर्जा ४१ प्रतिशतमथि पुगेको भन्दै राष्ट्र बैंकले यसअघि बैंकलाई समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो । पछि सञ्चालक समितिले बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि सोही ऐनको दफा ८६ को (ग) अन्तर्गत रहेर बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको छ । यस अघि पनि थुप्रै बैंकहरु समस्याग्रस्त घोषित भइ सकेका छन् ।
नेपाल राष्ट्र बैंकले यसअघि समस्याग्रस्त घोषणा गरेका झण्डै डेढ दर्जन संस्थाहरु सुधार तथा एक्विजिसनको माध्यमबाट रिजोलुसन भइसकेका छन् । कतिपय भने खारेजी समेत भएका छन् ।विशेषगरी राष्ट्र बैंकले खराब कर्जा अत्याधिक बढेर समस्याग्रस्त अवस्थामा रहेका वित्तीय संस्थालाई आफ्नै निगरानीमा राखेर समस्यामुक्त बनाउने कोशिस गर्दछ । राष्ट्र बैंकले नयाँ लगानीकर्ताको प्रवेश गराएर वा अन्य उपायबाट संस्थाको सुधार हुने अवस्था बनाइ फुकुवा गर्छ वा सो अवस्था नदेखिएमा खारेजी गरिन्छ ।
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकसहित हालसम्म करिब डेढ दर्जन वित्तीय संस्थाहरु समस्याग्रस्त घोषणा भइसकेका छन् । क्रिस्टल फाइनान्स, नेपाल सेयर मार्केट्स, हिमालयन फाइनान्स, कुवेर मर्चेन्ट, क्यापिटल मर्चेन्ट, वल्र्ड मर्चेन्ट, जनरल फाइनान्स, नारायणी फाइनान्स समस्याग्रस्त घोषणा भएका संस्थाहरु हुन् । यसैगरी, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, ललितपुर फाइनान्स, नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड फाइनान्स, सुपर लघुवित्त वित्तीय संस्था पनि समस्याग्रस्त घोषणा भएका हुन् ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसीसी बैंक, एनबी बैंक लगायतका बैंकहरुलाई समस्याग्रस्त घोषणा नै नगरिए पनि यी बैंकहरुमा पनि समस्या देखिएको थियो । समस्याग्रस्तबाट फुकुवा भएर संचालनमा आएका केही वित्तीय संस्थाहरु अहिले सुधारोन्मुख अवस्थामा छन् । केही संस्थाहरु खारेजीमा गएका छन् भने केही संस्थाहरु मर्जर तथा एक्विजीसनको माध्यमबाट अन्य संस्थाहरुमा विलय भएका छन् ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका ५ वटा संस्थाहरुलाई खारेजीमा भएको छ । खारेजीमा पर्ने बैंकहरुमा नेपाल विकास बैंक, युनाइटेड विकास बैंक, सम्झना फाइनान्स, क्रिष्टल फाइनान्स र हिमालयन फाइनान्स हुन् ।यस्तै गोर्खा डेभलपमेन्ट बैंक २०६७ चैतमा समस्याग्रस्त घोषणा भएको थियो । तल्कालीन गोरखा डेभलपमेन्ट बैंक काठमाडौं फाइनान्ससँग मर्जमा गई घटुवा भएर हाल गोरखा फाइनान्सको रुपमा संचालनमा रहेको छ ।गैरआवासीय नेपालीले लगानी गरेसँगै समस्याग्रस्तबाट फुकुवा भएको जनरल फाइनान्स हाल बेष्ट फाइनान्सको नामबाट संचालित छ । २०७० जेठमा समस्याग्रस्त भएको यो फाइनान्स २०७३ सालमा नै समस्याग्रस्तबाट फुकुवा भएको थियो ।
यस्तै २०७१ माघमा समस्याग्रस्त घोषणा भएको अरुण फाइनान्स नयाँ लगानीकर्ता भित्रिएपछि २०७३ माघमा समस्याग्रस्तबाट मुक्तभई हाथवे फाइनान्सको नामबाट संचालनमा रहेको थियो । हाथवे इन्भेष्टमेन्ट कम्पनीले लगानी गरेर यस कम्पनीलाई ब्युँताएको थियो । यो फाइनान्स अहिले ग्लोबल आइएमई बैंकमा गाभिएको छ ।
यस्तै २०७१ पुसमा समस्याग्रस्त घोषणा भएको कर्पोरेट डेभलपमेन्ट बैंकमा नयाँ लगानीकर्ता भित्रिएपछि २०७४ माघमा समस्याग्रस्तबाट मुक्त भएको थियो । हाल यो बैंक यही नामबाट संचालनमा रहेको छ । २०७१ चैतमा समस्याग्रस्त घोषा भएको यो फाइनान्स २०७४ मंसिरमा समस्याग्रस्तबाट मुक्त भएपछि नेपाल फाइनान्समा गाभिएको हो ।२०६९ पुसमा समस्याग्रस्त घोषणा गरिएको यो संस्थामा नयाँ लगानीकर्ता भित्रिएपछि २०७४ मा समस्याग्रस्तबाट मुक्त भएको थियो । नयाँ लगानीकर्ता भित्रिएपछि यसको नाम फेरेर सीटी एक्सप्रेस फाइनान्स राखिएको थियो । पछि यो संस्थालाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्यो ।
२०६९ साल पुसमा समस्याग्रस्त घोषणा गरिएको कुबेर मर्चेन्ट फाइनान्समा नयाँ लगानीकर्ताको प्रवेश भएपछि २०७४ साल मंसिर १९ गते फुकुवा गरिएको थियो । यो फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गरेको हो । सिटी एक्सप्रेस फाइनान्सको १०० कित्ता सेयरबापत नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर दिइएको थियो ।नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स समस्याग्रस्त संस्थाकै रुपमा रहेको छ । राष्ट्र बैंकले यो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेर २०६८ पुस २९ गते आफ्नो नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि कम्पनीको पुँजी घटाएर वित्तीय अवस्था सुधार्दै नयाँ व्यवस्थापन गठन गर्न लागेको छ । अहिले यस संस्थाको सञ्चालक समूहका सदस्यको पदपूर्ति गर्न लागिएको छ । राष्ट्र बैंकले कम्पनीको सुधार गर्दै अब नियन्त्रण फुकुवा गर्ने तयारी गरेको छ । २०७० वैशाखमा यो संस्था समस्याग्रस्त घोषणा भएको थियो । नयाँ लगानीकर्ता भित्रिएपछि २०७६ साउनमा समस्याग्रस्तबाट मुक्त भयो । अहिले यो समृद्धि फाइनान्सका रुपमा संचालनमा रहेको छ ।
दाङ स्थित सुपर लघुवित्त वित्तीय संस्था अझै राष्ट्र बैंकको नियन्त्रणमा नै रहेको छ । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई २०७९ भदौमा समस्याग्रस्त घोषणा थियो । प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएकाले सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
मध्यमाञ्चल ग्रामीण विकास बैंकलाई २०६७ जेठमा समस्याग्रस्त घोषणा गरिएको थियो । विगतको ५ विकास क्षेत्रमा रहेका ५ वटा ग्रामीण विकास बैंकलाई मर्ज गरेर २०७१ साउनबाट ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबारमा रहेको छ ।
यस्तै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसीसी बैंक, एनबी बैंक लगायतका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा नै नगरेपनि यी बैंकहरुमा पनि समस्या देखिएको थियो । यीमध्ये केही बैंकहरुको व्यवस्थापन सुधारका लागि नेपाल राष्ट्र बैंकले हस्तक्षेप नै गर्नपर्यो भने केही बैंकमा विदेशी व्यवस्थापन नै भित्र्याउनु परेको थियो । केही ठूला बैंकहरु संचालकहरुबीचको विवादमा परेका थिए ।
संस्थागन सुशासनको अभाव भएपछि एनसीसी बैंकलाई राष्ट्र बैंकले २०७० माघमा नियन्त्रणमा लिएको थियो । यो बैंकलाई राष्ट्र बैंकको व्यवस्थापनले नै ‘फोर्सफुल्ली’ मर्जरमा लगेको थियो । एनसीसी बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्जर भएका थिए । त्यसपछि एनसीसी बैंक र कुमारी बैंक मर्ज भएका हुन् । अहिले एनसीसी बैंक कुमारीमा विलय भएको अवस्था हो ।
२०६३ कात्तिकमा राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक एनबी बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको थियो । हालका गभर्नर तत्कालिन निर्देशक महाप्रसाद अधिकारी लाई व्यवस्थापन संयोजक बनाएर ४ सदस्यीय टोली एनबी बैंकमा पठाएको थियो । राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रण लिएको केही समयमै बैंक पुरानै लयमा फर्कियो । अहिले यो बैंक नबिल बैंकमा मर्ज भएको छ ।
यस्तै बैंक अफ काठमाडौं सञ्चालक समितिमा विवाद भएपछि राष्ट्र बैंकले २०६६ जेठ ५ मा हस्तक्षेप गरी व्यवस्थापन नियन्त्रणमा लिएको थियो । नयाँ सञ्चालक समिति निर्वाचनपछि २०६६ साउन ५ मा राष्ट्र बैंक बाहिरियो । यो बैंक अहिले ग्लोबल आइएमई बैंकमा मर्ज भइसकेको छ । पछिल्लो समयमा सनराइज बैंकमा सञ्चालकबीच तीव्र्र विवाद भएपछि राष्ट्र बैंकले हस्तक्षेपको तयारी गरेको थियो । तर पछि यो बैंक लक्ष्मी बैंकसँग मर्जमा गयो । लक्ष्मी र सनराइज मर्ज भएर लक्ष्मी सनराइज बैंक बनेको हो ।
२०५२-५३ पछि करिब २०५८ सम्म नेपाल बैंक पनि समस्यामा परेको थियो । २०५८–५९ तिर विदेशी व्यवस्थापन आएर नेपाल बैंक ‘टेकओभर’ गरेको थियो । नेपाल सरकारले दातासँग ऋण नै लिएर विदेशी व्यवस्थापकीय टिम ल्याएर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको उद्धार नै गरेको थियो ।
करिब ५ वर्ष विदेशी व्यवस्थापनले नै नेपाल बैंकको सम्पूर्ण व्यवस्थापन सम्हाल्यो । त्यसपछि नेपाल राष्ट्र बैंकबाट विशेष व्यवस्थापन समूह आएर बैंकको व्यवस्थापकीय नेतृत्व लिएको हो । राष्ट्र बैंकले पनि पटक–पटक गरी ६ वर्ष व्यवस्थापकीय नेतृत्व गरेपछि २०७२ सालमा बैंकमा सीईओ नियुक्त गरेर व्यवस्थापन समिति बाहिरिएको थियो ।