बालेनले मेयर बनेपछि गाएको यस्तो छ पहिलो गीत


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २८ २०८१
3.8K
SHARES

२८ माघ काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले सोमबार (आज) सार्वजनिक गरेको हो ।बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।

‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर छ । गीतले विकसित नेपालको परिकल्पना गरेको छ ।‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङ भनेको छ ।

‘लाज शरणम्’का कार्यकारी निर्माता समेत रहेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’सँग राम्रो सम्बन्ध भएका कारण बालेनले यो चलचित्रका लागि गीत गाएका हुन् । काठमाडौं महानगरपालिकामा मेयरको उमेदवार हुँदा सबैभन्दा पहिला बालेनको पब्लिसिटी अर्जुनले आफ्नो टेलिचलचित्र ‘सक्किगोनि’मार्फत गरिदिएको थिए । ‘सक्किगोनि’को सिजन–२ को ६४ औँ भागमा बालेन विशेष अतिथि कलाकारको रूपमा पुगेका थिए ।

त्यस्तै, काठमाडौं महानगरको मेयरको मतगणनामा अर्जुन बालेनका तर्फबाट मतगणना प्रतिनिधिका रूपमा बसेका थिए । त्यसैले बालेनले अर्जुनको आग्रहलाई नकार्न नसकेका हुन् ।फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।