उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
2.5K
SHARES

२३ फागुन सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् ।मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबको शिक्षा प्रतिस्पर्धात्मक र उद्यमशीलता सिर्जना गर्ने खालको नभए मुलुक नै पछि पर्ने बताए ।

‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह समेत गरे । मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।

‘अब पुँजीवाद र समाजवादका बहस गरिरहनु पर्दैन, सबैभन्दा ठूलो मानवतावाद हो’, प्रधानमन्त्री ओलीले भने ।मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्रिम बौद्धिकतायुक्त प्रविधि र सृजनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक अवस्था रहेको बताए ।

‘आज उच्च शिक्षाका लागि देशका कर्णधारहरू विदेशी विश्वविद्यालयमा पुगेको अवस्था छ,’ उनले भने, ‘व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तीलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको छ ।’

शिक्षा केवल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम काम गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।कर्णालीबारे बोल्दै उनले कर्णालीका मानिसहरू महाभारत युद्धमा लड्न गएको उल्लेख गरे ।

‘यहाँका मान्छेले जहाँ छोयो, त्यही छेड पार्थे । यहाँको सभ्यताको लामो इतिहास छ । आजको हिसाबले पनि कर्णाली तेल खानी भएको प्रदेश हो । जडीबुटीको खानी हो । प्रयोगबारे खोज अनुसन्धान गर्न बाँकी नै छ,’ उनले भने ।