‘पहिलो विश्वयुद्धको’ खुकुरी नेपाललाई उपहार


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
2.6K
SHARES

६ जेठ काठमाडौं । सगरमाथा र बुद्ध मात्र होइन, मुलुक चिनाउने र चिन्ने अनेक माध्यम र साधन छन् । वीरताको गाथा र खुकुरीको कथा पनि यसमा जोडिन्छ । हालै अस्ट्रेलियामा यस्तै भएको छ ।

आफ्ना बाजेले सँगालेर राखेको ‘सवा सय वर्ष’ पुरानो एकथान खुकुरी बोकेर अस्ट्रेलियन ट्रिस हागर्थी र उनका पति पिटर सिड्नीस्थित नेपाली वाणिज्य दूतावास पुगे । आफूले सुनेको र पढेको कथाभित्र खुकुरी र गोर्खाको बहादुरी रहेकाले त्यो हतियार नेपालकै हो भन्ने ठम्याइसाथ ट्रिस त्यहाँ पुगेकी थिइन् ।

पहिलो विश्वयुद्धताका अस्ट्रेलियन लेफ्टिनेट थोमस गिलीगनलाई उक्त खुकुरी पपुवा न्युगिनी भ्रमणक्रममा कोही गोर्खाले उपहार दिएका रहेछन् । त्यो खुकुरी गिलीगनले अस्ट्रेलिया ल्याएर घरमा सजाएर राखे । उनको मृत्युपश्चात् त्यो उपहार पुस्तान्तरण हुँदै नातिनी ट्रिसको घरमा पुगेको थियो ।पहिलो विश्वयुद्ध समेत लडेका उनका हजुरबुवा गिलीगनको मायाको चिनो एउटा मुलुकका निम्ति पुरातात्त्विक महत्त्वको विषय बन्न सक्छ भन्ने सोचका साथ ट्रिसले न्यु साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्मालाई त्यो खुकुरी हस्तान्तरण गरिन् ।

शर्माले यो अत्यन्तै महत्त्वको रहेको बताउँदै ट्रिस र पिटरलाई धन्यवाद दिए । उनले पहिलो विश्वयुद्धताका नेपालीले प्रयोग गरेको यो खुकुरी देशको पुरातात्त्विक महत्त्वको भएकाले सम्बन्धित निकायमा पठाइने बताए ।“भोलिका दिनमा यस्ता सामग्रीहरू हाम्रा संग्रहालयमा ऐतिहासिक महत्त्वका विषय बन्न सक्छन्,” वाणिज्यदूत शर्माले भने ।