आजदेखि ट्रम्पले भारतविरुद्ध घोषणा गरेको २५ प्रतिशत भन्सार शुल्क कार्यान्वयनमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १० २०८२
3.8K
SHARES

१० भदौ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतबाट आयातित वस्तुमा अतिरिक्त २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने विषयमा आधिकारिक ‘नोटिस’ जारी गरेको छ । रुसी तेल खरिदका कारण जरिवानाका रूपमा यो ट्यारिफ लगाइएको हो । अगस्ट २७ देखि यो लागु हुनेछ ।

अमेरिकाको होमल्यान्ड सिक्युरिटी विभागले जारी गरेको नोटिसमा भनिएको छ, “यो ट्यारिफ रुसी संघीय सरकारबाट संयुक्त राज्य अमेरिकालाई प्राप्त खतराको जवाफमा लगाइएको हो । र, भारतलाई यो नीतिको हिस्साका रूपमा निसाना बनाइएको छ ।”

नोटिसमा अगाडि उल्लेख छ, “यो ट्यारिफ २७ अगस्ट २०२५ मा वा त्यसपछि उपभोगका निम्ति दर्ता गरिएका वा गोदामबाट निकालिएका भारतीय उत्पादनमा लागु हुनेछ ।”

भारत–अमेरिका सम्बन्धमा तनाव
ट्रम्प प्रशासनले रुसी कच्चा तेल खरिदका कारण भारतमाथि २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाएको छ । व्यापार घाटाको हवाला दिँदै यसअघि भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाइएको थियो । यसबाट भारतीय वस्तुमा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ । यो कदमले नयाँ दिल्ली र वासिङटनबीचको सम्बन्धमा तनाव सिर्जना गरेको छ ।

मोदीको स्पष्ट सन्देश
अमेरिकी ट्यारिफ लागु हुनुभन्दा दुई दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात राज्यको अहमदाबादमा आयोजित एक सभामा भारतले आर्थिक दबाबको सामना गर्न आफ्नो उत्थानशीलता बलियो बनाउने नीतिलाई निरन्तरता दिने बताएका छन् ।

जति नै विदेशी दबाब आए पनि त्यसलाई सामना गर्न आफ्नो शक्ति बढाइरहने उनले उल्लेख गरे । उनले आफ्नो सरकारले साना उद्यमी, किसान र पशुपालकलाई कहिल्यै हानि नगर्नेमा जोड दिए ।

अमेरिकी ट्यारिफमाथि कटाक्ष गर्दै मोदीले विश्वमा आर्थिक स्वार्थको राजनीति चलिरहेको र सबै आफ्नो हितमा लागेका भन्दै त्यसलाई राम्ररी नियालिरहेको बताए ।

ट्यारिफको असर : सेयर बजारमा हलचल
मंगलबार बिहान भारतीय सेयर बजार राताम्य भएर खुलेको छ । बिहान ९ः३१ बजे सेंसेक्स ६०८.७३ अंकले (०.७५%) घटेर ८१,०२७.१८ मा झरेको जनाइएको छ ।

यस्तै, निफ्टी १८३.१० अंकले (०.७३%) घटेर २४,७८४.६५ मा झरेको छ । यो गिरावट अमेरिकी ट्यारिफ निर्णयसँग प्रत्यक्ष रूपमा जोडिएको जनाइएको छ ।