पकिस्तान सरकारले जेलमा आधारभूत सुविधा कटौती गरेको इमरान खानको आरोप


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२
3.8K
SHARES

११ भदौ काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज र जेल प्रशासनविरुद्ध गम्भीर आरोप लगाएका छन् । खानले प्रहरीमा निवेदन दिँदै रावलपिण्डीको अडियाला जेलमा आफूलाई आधारभूत सुविधाहरू पनि उपलब्ध नगराइएको र यसको पछाडि मरियम नवाजको प्रत्यक्ष आदेश रहेको बताएका छन्।

७२ वर्षीय इमरान खानले प्रहरी प्रमुखलाई लेखेको पत्रमा आफ्नो कोठामा बत्तीसमेत नरहेको र भेटघाटको अधिकार पनि खोसिएको उल्लेख गरेका छन्। उनले पञ्जाब सरकारको इशारामा कैदी भए पनि आफ्ना कानुनी र मानवीय अधिकारको हनन भइरहेको आरोप लगाएका छन्।खानले मरियम नवाज र आठ जना जेल अधिकारीहरूविरुद्ध एफआइआर दर्ता गर्न माग गरेका छन् ।

इमरान खानले आफ्नो परिवार र वकिलहरूसँगको भेटघाट पूर्ण रूपमा बन्द गरिएको बताएका छन् । प्रहरी चौकीमा तैनाथ अधिकारीहरू जैनब र ऐजाजमाथि पनि उनले परिवारसँग दुव्र्यवहार र उत्पीडन गरेको आरोप लगाएका छन् । देशको अवस्थाबारे अनभिज्ञ राख्ने उद्देष्यले खानले आफूलाई पूर्ण रूपमा बाहिरी दुनियाँबाट अलग राखिएको बताएका छन् । उनलाई टेलिभिजन र समाचारपत्र पनि उपलब्ध गराइएको छैन । जेलबाट सन्देश दिँदै इमरान खानले आफूलाई पुनः एकान्तवासमा राखिएको बताएका छन् ।

उनले आफू राष्ट्रको सच्चा स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको र पछि नहट्ने लेखेका छन् । खानले आफ्नी पत्नी बुशरा बीबीलाई पनि अमानवीय व्यवहारको सामना गर्नुपरेको र भेटघाटको अनुमति नदिइएको आरोप लगाएका छन् ।खानले बताए अनुसार उनको परिवारले पठाएका दर्जनौँ किताबमध्ये केवल चारवटा मात्र उनलाई दिइएको छ, बाँकी सबै जफत गरिएको आरोप लगाएका छन् । चिकित्सकसम्मको पहुँचबाट वञ्चित गराएर उनको स्वास्थ्य अधिकार पनि खोसिएको उल्लेख गरेको छन् । उनले यो आधारभूत मानवअधिकारको उल्लङ्घन भएको बताउँदै न्यायका लागि अपिल गरेका छन् । यो बिषय अब पाकिस्तानमा राजनीतिक बहसमा प्रमुख मुद्दा बनेको बताइएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।