चीनको विजय परेड
१८ भदौ काठमाडौं । पछिल्लो दुई दिनमा चीनका राष्ट्रपति सी चिनफिङले जोड दिएर भनेका छन्- अब शीतयुद्धकालीन मानसिकताको औचित्य छैन । अब विश्वलाई नयाँ दिशा दिने बेला आयो । शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी एशिया र मध्य पूर्वका शीर्ष नेताहरूमाझ सीले भनेका छन्- हामी प्रभूत्ववाद र शक्ति राजनीतिको विरोधमा उभिनुपर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’को नारा दिइरहँदा सीले वैश्विक शासनको अवधारणा अघि सारिहेका छन् । क्षेत्रीय शक्तिहरूलाई साथमा लिएर मात्रै यो सम्भव हुने सीको बुझाइ देखिन्छ ।
अमेरिकाले एशिया र मध्य पूर्वका मुलुकमाथि यो वा त्यो नाममा कर थोपरिरहेका बेला तियानजिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन समेत सीसँगै उभिनु आफैंमा पश्चिमाविरुद्धको प्रतिरोध देखिन्छ ।
एससीओमा सँगै उभिएका सी र पुटिन बुधबार बेइजिङमा आयोजित विशाल विजय सैन्य परेडमा समेत सँगै देखिएका छन् । उनीहरुको साथमा उत्तर कोरियाली नेता किम जोङ उन पनि सँगै देखिए । मोदी भने चीनबाट फर्किसकेका छन् ।
शीर्ष तीन नेताबाहेक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित २६ देशका राष्ट्राध्यक्ष समेत चीनको विजय परेडमा सहभागी भए । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन आफ्नै रेल चढेर मंगलबार बेइजिङ पुगेका थिए ।एससीओ सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि तियानजिनबाट बुलेट रेल चढेर विजय परेडमा भाग लिन बेइजिङ पुगेका थिए