डडेलधुरा र कैलालीमा ‘अति भारी’
२७ भदौ काठमाडौं । देशका धेरै स्थानमा गए राति (भदौ २६) वर्षा भएको छ । कतिपय स्थानमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।केही स्थानमा यति बेला (बिहान १०ः३५ बजे) पनि पानी परिरहेको छ । पछिल्लो २४ घण्टामा डडेलधुरा र कैलालीमा ‘अति भारी’ वर्षा भएको महाशाखाले जनाएको छ ।यो अवधिमा सबैभन्दा धेरै पानी डडेलधुराको गाइबन्डेमा २१०.२ मिलिमिटर परेको छ । कैलालीको चिसापानीमा २०३.२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यी दुई स्थानमा ‘अति भारी’ वर्षा भएको छ ।
यीबाहेक अरू कतिपय स्थानमा पनि ठूलो पानी परेको छ । यति बेला सुदूरपश्चिम प्रदेशका दार्चुला, डडेलधुरा, बैतडी, कैलालीलगायत जिल्लामा पानी परिरहेको महाशाखाले जनाएको छ ।“२७ भदौ २०८२ (बिहान १०ः३५) । गएको २४ घण्टामा डडेलधुराको गाइबन्डेमा अति भारी पानी (२१०.२ मिलिमिटर) र कैलालीको चिसापानीमा (२०३.२ मिलिमिटर) परेको छ । अहिले पनि सुदूरपश्चिमका दार्चुला, डडेलधुरा, बैतडी, कैलालीलगायतका जिल्लामा पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।