फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ – नक्खु कारागार
२७ भदौ काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ ।
कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् ।जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका थिए ।
तर नक्खु कारागार प्रशासनले नै सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु (थुनुवा र कैदी)लाई सम्पर्कमा आउन भनेको छ ।यदि नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी प्रशासनले दिएको छ ।
‘अत: विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ, ‘साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा अवगत गराइन्छ ।’
