२०२८ को राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने कमला ह्यारिसको संकेत


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
1.8K
SHARES

९ कात्तिक काठमाडौं । सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोर्क्र्याटिक उमेदवार एवं पूर्वउपराष्ट्रपति कमला ह्यारिसले २०२८ को राष्ट्रपति चुनावका विषयमा ठूलो संकेत दिएपछि फेरि एकपटक राजनीतिक सरगर्मी बढेको छ । एक अन्तर्वार्तामा उनले आफू फेरि राष्ट्रपति पदको दौडमा सहभागी हुन सक्ने संकेत गरेकी हुन् ।उनले ह्वाइट हाउसका निम्ति अर्को चुनाव लड्ने सम्भावनालाई अस्वीकार गरेकी छैनन् । शनिबार बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आउँदा वर्षहरूमा अमेरिकामा एक महिला राष्ट्रपति बन्ने र यो सम्भवतः आफू हुन सक्ने बताइन् ।

उनले आफ्नो राजनीति नसकिएको उल्लेख गरिन् । यद्यपि, उनले २०२८ मा चुनाव लड्ने अन्तिम फैसला गरिनसकेको स्पष्ट पारिन् ।उनले यो सम्भावनालाई खारेज पनि गरेकी छैनन् । उनले भनिन्, “मैले आफ्नो सम्पूर्ण करियर सेवाभावले बाँचेकी छु र यो मभित्र बसेको छ । र, सेवा गर्ने धेरै तरिका छन् ।”उनले अगाडि भनिन्, “मैले कहिल्यै जनमत सर्वेक्षणमा ध्यान दिएकी छैन ।”

गएको सेप्टेम्बरमा आफ्नो पुस्तक ‘१०७ डेज’को विमोचनपछि उनले धेरै अन्तर्वार्ता दिएकी छन् । उक्त किताबमा उनले जो बाइडन चुनावबाट हटेपछि २०२४ मा डेमोर्क्र्याटिक राष्ट्रपति पदको उमेदवारका रूपमा उनको ठाउँ लिएको अवधिको उल्लेख गरेकी छन् । उक्त चुनावमा उनी रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन् ।गएको साता एसोसिएटेड प्रेसलाई दिएको एक अन्तर्वार्तामा ६० वर्षीया ह्यारिसले सन् २०२८ मा फेरि चुनाव लड्ने बारेमा विचार गरिरहेको बताएकी थिइन् ।