बोल्दा बोल्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
1.8K
SHARES

१३ कात्तिक बुटवल । रुपन्देहीमा १३ उद्योगमा नेपाल विद्युत् प्राधिकरणले गरेको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।बिहीबार (कात्तिक १३) अचानक ढलेका गौतमलाई उपचारका निम्ति मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले क्रिमसन अस्पताललाई उद्धृत गर्दै जानकारी दिए ।

गौतमले बुधबार (कात्तिक १२) सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकमा संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने बताएका थिए ।धर्ना कार्यक्रममा उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगीलाई फसाएको आरोप लगाउँदै श्रमिक एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।उनले उद्योगीले नियमित रूपमा मासिक रूपमा विद्युत् महसुल तिर्दै आएकामा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरू पीडित भएका बताएका थिए ।

“आमजनमानसमा भ्रम सिर्जना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, म यहीँबाट प्रमाण दिन चाहन्छु– उद्योगपतिले ठगेको छैन,” उनले भने, “सरकार र विद्युत् प्राधिकरणको गैरजिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युत्का कर्मचारीहरूले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”श्रमिकलाई गुमाउन नचाहेको बताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । त्यसपछि उनी ढलेका थिए । लगत्तै उपचारका निम्ति उनलाई क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको मृत्यु भएको जनाइएको छ ।