अमेरिकाले शरणार्थी प्रवेश संख्या साढे सात हजारमा झार्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
1.5K
SHARES

१४ कात्तिक काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले  अमेरिकामा शरणार्थीको प्रवेश संख्यालाई घटाएर सात हजार ५०० बनाउन लागेको छ । सान्ता मारिया टाइम्सका अनुसार यसमा दक्षिण अफ्रिकाका श्वेत (गोरा) मानिसहरूलाई प्राथमिकता दिइनेछ ।ट्रम्पको प्रशासनले आर्थिक वर्ष २०२६ का लागि शरणार्थी प्रवेश सीमालाई ऐतिहासिक रूपमा न्यून तय गरेको छ, जुन अमेरिकी इतिहासमा सबैभन्दा कम संख्या हुनेछ ।

यो निर्णयमा विशेष गरी दक्षिण अफ्रिकाका श्वेत निवासीहरूलाई प्राथमिकता दिइएको छ, जसका कारण मानवाधिकार संगठनहरू र विपक्षी दलहरूमा आक्रोश फैलिएको छ ।

ट्रम्प प्रशासनको कडा आलोचना
आलोचकहरूले यो कदम अमेरिकी शरणार्थी कार्यक्रमलाई नस्लीय आधारमा परिवर्तन गर्ने प्रयास भनेका छन् । स्टेट डिपार्टमेन्टले बुधबार जारी गरेको वक्तव्यमा नयाँ सीमाअन्तर्गत अधिकांश शरणार्थीहरू दक्षिण अफ्रिकाका श्वेत किसानहरू छन् । अन्य अल्पसंख्यक समुदायहरूबाट लिइनेछन्, जो कथित रूपमा भूमि जफत र हिंसाको शिकार भइरहेका छन् ।

यो निर्णय फेब्रुअरी २०२५ मा सुरु गरिएको मिसन साउथ अफ्रिका पहलको विस्तार हो, जसको उद्देश्य दक्षिण अफ्रिकाका अंग्रेजी भाषी श्वेत निवासीहरूलाई प्राथमिकता दिनु हो ।

अमेरिकाले ६ हजार अफ्रिकीलाई पुनस्र्थापित गर्ने
अमेरिकाको होम डिपार्टमेन्टले नोभेम्बरको अन्त्यसम्ममा ६ हजार श्वेत दक्षिण अफ्रिकीहरूलाई पुनस्र्थापित गर्ने लक्ष्य राखेको छ । ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नछाप्ने शर्तमा भने, “यो निर्णय राष्ट्रिय सुरक्षा र सांस्कृतिक एकीकरणलाई ध्यानमा राखेर लिइएको हो । दक्षिण अफ्रिकाका श्वेत समुदाय अमेरिकी मूल्यमान्यतासँग मेल खान्छन् । र, चाँडै समाजमा घुलमिल हुन सक्छन् ।”

यद्यपि, यस वक्तव्यलाई नस्लवादी भन्दै गर्दै मानवाधिकार संगठन ह्युमन राइट्स वाचले भन्यो, “यो शरणार्थी कार्यक्रमलाई विश्वका सबैभन्दा कमजोर मानिसहरूको मद्दत गर्ने उद्देश्यबाट बदलेर एक नस्लीय चयन प्रक्रियामा रूपान्तरण गर्दै छ ।”

एक लाख १० हजार थियो शरणार्थी सीमा
ट्रम्पको पहिलो कार्यकाल (सन् २०१७–२०२१) मा शरणार्थी सीमा एक लाख १० हजारबाट घटाएर १५ हजार गरिएको थियो । तर, अब सात हजार ५०० को नयाँ सीमा त्योभन्दा पनि ५० प्रतिशत कम हो ।

यो कदम विश्वव्यापी शरणार्थी संकटको बीचमा आएको छ, जहाँ संयुक्त राष्ट्रसंघका अनुसार २०२५ मा एक करोड २० लाखभन्दा बढी मानिसहरू मुख्य रूपमा मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकाबाट बेघर भइसकेका छन् ।

विशेषज्ञहरू यो सीमाले पाँच हजारदेखि ६ हजार शरणार्थीहरूलाई मात्र प्रवेश गर्न दिने बताउँछन् । यसमध्ये ८० प्रतिशत दक्षिण अफ्रिकाका श्वेत निवासीहरू हुनेछन् ।