अब नयाँ पार्टी बनाउँछौँ – नेता खनाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
1.7K
SHARES

१४ कार्तिक काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरूले नयाँ पार्टी बनाउने बताएका छन् । शुक्रबार साँझ सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकलौटी रूपमा पार्टी एकताको निर्णय सुनाएर बैठक सकेको भन्दै नयाँ हिसाबले चल्ने बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता गर्ने निर्णयमा आफू असहमत रहेको बताए । उनले क्यापिटल हेडलाईनसगको कुराकानीमा भने बैठकको अन्त्यमा बोल्न खोज्दा माइक काटिएको बताए ।

“मैले असहमति प्रकट गरिसकेको छु । मैले बोल्न खोज्ने बित्तिकै षड्यन्त्रमूलक ढंगले माइक काटियो । तानाशाहीको घिनौना रूप देखाएर बैठक अन्त्य भयो,” उनले भने ।

अब कसरी अघि बढ्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, “कानुनी कुरा अनुरुप भए उनीहरू (माधव)ले अन्त्य गरेपछि यहीँ पार्टी बनाउँछौँ । तर, नयाँ पार्टी बनाउँछौँ ।”