भियतनाममा भीषण बाढी
१६ कात्तिक काठमाडौं । लगातारको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अन्य पाँच जना अझै बेपत्ता छन् ।विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार, भियतनाममा २४ घण्टाभित्र रेकर्ड वर्षा भएको छ । जसका कारण तटीय क्षेत्रहरू बढी प्रभावित भएको छ ।भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भीडीडीएमए) का अनुसार, मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका छन् ।
युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होई एन पनि डुबानमा परेको छ । त्यहाँको नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुंगा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन् ।
होई एनका निवासी चुओङ गुयेनले भने, “सबैजना स्तब्ध छन् । हामीले बाढीका लागि तयारी गरेका थियौँ । तर पानी यति बढ्ने अपेक्षा गरेका थिएनौँ । धेरै घरहरू समयमै तयार हुन नसक्दा धेरै सामान नष्ट भए ।”
भीडीडीएमएका अनुसार, १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन् । ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर (१३ हजार एकड) बाली जमिन बाढीले नष्ट गरेको छ । वातावरण मन्त्रालयका अनुसार, कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।वैज्ञानिकहरूका अनुसार, जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता घटनाहरू अझ घातक र विनाशकारी बन्दै गएका छन् ।
प्राकृतिक प्रकोप खासगरी आँधीबेहरी, बाढी र भूस्खलनका कारण यस वर्षको नौ महिनामा १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्यांकले जनाउँछ ।सरकारका अनुसार, बाढी र प्रकोपजन्य कारणले ६१ करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय भए पनि लगातारको वर्षाका कारण राहत र उद्धार कठिन बनेको छ ।