संस्थापन पक्षका नेताहरूको बेग्लै भेला


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८२
1.5K
SHARES

१७ कार्तिक काठमाडौं । पार्टीभित्र महाधिवेशनको कार्यतालिकाको विषयले विवाद चर्किँदै गएपछि नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरू बेग्लै छलफलमा जुटेका छन्। नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा अहिले छलफल जारी छ।बैठकमा देशको विकसित राजनीतिक घटनाक्रमसहित पार्टीभित्र आन्तरिक गतिविधिबारे छलफल चलिरहेको केन्द्रीय सदस्य शंकर भण्डारी बताए।

उनले नेपाल प्रेससँग भने, ‘केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आइरहेको छ। देश अफ्ठेरो अवस्थामा छ। त्यसैले हामीले सामूहिक धारणा बनाऔँ भनेर छलफल गरेका हौँ। अहिले चलिरहेको छ।’ भेलामा करिब ४५ जनाभन्दा धेरै केन्द्रीय सदस्यहरू सहभागी रहेको उनले बताए।

महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन। अब बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।तर संस्थापन पक्ष फागुन २१ को चुनावपछि वैशाखमा मात्रै गर्नुपर्ने अडानमा छ।