जेनजी पुस्तालाई सामेल गरेर अघि बढ्न पार्टी एकीकरण अभियान – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
1.6K
SHARES

१८ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवापुस्तालाई सामेल गरेर अघि बढ्न आफूहरूले पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन् ।  मंगलबार (कात्तिक १८) काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनको मुद्दालाई आत्मसात गरेर उनीहरू पनि सामेल हुने गरी नौ कम्युनिस्ट पार्टीहरूबीच एकीकरणको काम गर्नुपरेको उल्लेख गरे ।

नेकपा एससहितका नौ कम्युनिस्ट पार्टीको बीचको एकीकरण नेपालको कम्युनिस्ट पार्टीहरूको एकीकरणको कोसेढुंगा सावित हुने दाबी समेत गरे । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिस्ट शक्तिहरूलाई आफूहरूले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गरे ।

“नौ पार्टीले त्यसमा हस्ताक्षर गरिसकेका छन् । हामी नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ शीराबाट एकीकरण र पुनर्गठनका लागि अगाडि बढ्ने निर्णय गर्‍यौँ भनेर त्यो हस्ताक्षर भइसकेको छ,” उनले भने, “यो एकीकरण समग्र नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक रूपान्तरण, पुनर्गठनको प्रक्रियाको कोसेढुंगाको रूपमा अगाडि बढाउन चाहन्छौँ ।” नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।