दक्षिण अफ्रिका जान्नँ – ट्रम्प
२० कात्तिक काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुन अस्वीकार गरेका छन् । ट्रम्पले यसै महिनाको अन्त्यमा हुन लागेको उक्त सम्मेलनमा भाग नलिने स्पष्ट रूपमा बताएका छन् ।मियामीमा अमेरिका बिजनेस फोरममा उनले भने, “म जानेवाला छैन । दक्षिण अफ्रिकामा जी–२० को बैठक छ । दक्षिण अफ्रिका अब जी–समूहमा रहनु नै हुँदैन, किनभने त्यहाँ जे भइरहेको छ, त्यो धेरै नराम्रो छ । मैले उनीहरूलाई भनिसकेको छु– जाने छैन । म त्यहाँ हाम्रो देशको प्रतिनिधित्व गर्दिनँ । त्यो त्यहाँ हुनु नै हुँदैन ।”
दक्षिण अफ्रिकाले सन् २०२४ डिसेम्बर १ मा जी–२० को एक वर्षको अध्यक्षता सम्हालेको हो । र, जोहानेसबर्गमा यही नोभेम्बर २२ देखि २३ सम्म जी–२० नेताहरूको बैठक आयोजना गरिँदै छ । जी–२० शिखर सम्मेलन अफ्रिकी भूमिमा हुन गइरहेको यो पहिलोपटक हो ।जी–२० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिकालगायत १९ देश सदस्य छन् । यी देशबाहेक युरोपेली र अफ्रिकी संघ पनि यसका सदस्य छन् ।