कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ – विप्लव
२० कात्तिक काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान शुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन् । बिहीबार (कात्तिक २०) काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उनले सरकारमा को, किन र कसरी आयो भन्दै प्रतिप्रश्न गरे ।
कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको टिप्पणी गरे । उनले भने, “अन्तरिम सरकार कस्तो हुनुपर्छ भनेर किन सोधिएन ? अँध्यारो कुनाबाट रहस्यमयी ढंगबाट सरकार गठन गरियो । १२ वर्ष जनयुद्ध गरेका नेकपालाई किन सोधिएन ? लडेर आएको शक्तिको कदर गरेको छ ? जेलमा बसेका साथीहरूको पीडा बुझेको छ ?”
अहिले चुपचाप एउटै सरकार मानेर बस्ने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “जेनजीहरू सुव्यवस्थित तवरले अगाडि बढ्नुपर्ने अवस्था आएको छ । आ–आफ्नो रोटी सेक्नेतिर होइन, डम्फू बजाउनेतिर होइन अधुरोक्रान्ति, विद्रोहलाई पूरा गर्ने समय हो यो ।”
संसद् विघटन भए पनि भ्रष्टाचारीहरू खुलमखुल्ला भाषण गर्नै हिँड्न थालेको उनको भनाइ छ । जेनजी विद्रोह फेरि असफलतातिर जाने संकेत देखिएको उनले बताए । “जेनजीसँग तालमेल नगरे खराब स्थितिमा पुग्ने स्थिति छ । विदेशी दलालले कब्जा गर्ने षडयन्त्र भइरहेको छ,” उनले भने । विप्लवले संसदबाट संविधानमाथि तानाबाना बुन्ने षड्यन्त्र बढेको आरोप लगाए । संविधानको पुनर्लेखन गरेर राज्यको पुनर्संरचना गर्नुपर्ने उनको भनाइ छ । सबैको अधिकारका लागि लडेबापत नेकपालाई दुई वर्ष प्रतिबन्ध लगाएको स्मरण समेत गरे ।