अफगानिस्तानमा फेरि हमला गर्ने पाकिस्तानी रक्षामन्त्रीको धम्की
२६ कात्तिक काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानमा रहेका आतंकवादी अखडाहरूमा कारबाही गर्न सकिने बताएका छन् । मंगलबार इस्लामाबाद र खैबर पख्तुनख्वामा भएका हमलापछि ख्वाजाको बयान आएको हो ।जिओ न्युजलाई दिएको अन्तर्वार्तामा आसिफले अफगानिस्तानमा रहेका आतंकवादी अखडाहरूमा हमलालाई नकार्न नसकिने बताएका हुन् । उनले मंगलबार इस्लामाबादमा भएको बम हमलापछि पाकिस्तान कारबाही गर्न बाध्य भएको पनि बताए ।
मंगलबार इस्लामाबादमा भएको आत्मघाती हमलामा १२ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।आत्मघाती बम विस्फोटलाई लिएर प्रधानमन्त्री शहबाज शरीफ र रक्षामन्त्री ख्वाजा आसिफले फरकफरक दाबी गरेका छन् ।प्रधानमन्त्री शहबाजले हमलाका लागि भारतलाई जिम्मेवार बताएका थिए । रक्षामन्त्री ख्वाजा आसिफले अफगान सरकारमाथि हमलाको आरोप लगाएका छन् ।
ख्वाजा आसिफले अफगानिस्तानको भूमिबाट पाकिस्तानमा आतंककारीहरूको घुसपैठ भइरहेको दाबी गरे । उनले पछिल्लो एक वर्षमा २५ सय देखि तीन हजार आतंककारी पाकिस्तान पठाइएको दाबी गरे ।इस्लामाबाद विस्फोटको एक दिनअघि पाकिस्तानी सेनाले खैबर पख्तुनख्वाको वाना सहरमा एउटा आर्मी कलेजमा आतंकवादी हमलाको षड्यन्त्रलाई विफल पारेको थियो ।
एपीका अनुसार, ६ जना पाकिस्तानी तालिबान लडाकुहरू यस कलेजमा हमला गर्न पुगेका थिए । वाना इलाका लामो समयदेखि पाकिस्तानी तालिबान, अल–कायदा र अन्य चरमपन्थी संठनहरूको गढ मानिन्छ ।