बंगलादेशमा शेख हसिनाविरुद्धको मुद्दको फैसला आज
१ मंसिर ढाका । बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी भइरहँदा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत वर्षको हिंसात्मक विद्यार्थी आन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएसँगै हसिना भारतमा निर्वासित भएकी छन् । उनको अवामी लिग पार्टीले भने विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भनेको छ ।
अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्वगृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन् । तेस्रो अभियुक्त पूर्वप्रहरी प्रमुख राज्यको साक्षी बनेकाले उनलाई सजायको सिफारिस गरिएको छैन । यही मुद्दाको फैसला आज सोमबार सुनाइने अपेक्षा गरिएको छ ।
हसिना र पूर्वगृहमन्त्रीमाथि सन् विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गरेको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको छ । संयुक्त राष्ट्रसंघको फेब्रुअरी रिपोर्टअनुसार घटनामा १ हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ ।
गत हप्ताको बन्दपछि देशभर विस्फोट र आगजनीका घटनामा वृद्धि भएपछि न्यायाधिकरणले सोमबारका लागि फैसला तय गरेको थियो । सोमबार बिहान फैसलाको तयारी भइरहँदा अवामी लिगले पुनः बन्द आह्वान गरेको छ । हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसला बारे नर्भस नहुन’ आग्रह गरेकी छन् ।
बढ्दो हिंसाका बीच ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले सवारीसाधन जलाउने वा कच्चा बम प्रहार गर्नेहरूलाई ‘देख्नेबित्तिकै गोली हान्ने’ निर्देशन जारी गरेका छन् । गत हप्तामा मात्र देशभर ५० भन्दा बढी आगजनी, मुख्यतः सवारीसाधन लक्षित तथा थुप्रै कच्चा बम विस्फोट भएको र दुई जनाको मृत्यु भएको रिपोर्ट छ ।
फैसलाअघि सर्वोच्च अदालतका अधिकारीहरूले सेना मुख्यालयलाई न्यायाधिकरण परिसर वरिपरि सैन्य तैनाथीको अनुरोध गर्दै पत्र पठाएका छन् । अभियोजन पक्षले फैसलाको प्रक्रिया बंगलादेश टेलिभिजन तथा अन्य स्टेसनमार्फत प्रत्यक्ष प्रसारण हुनसक्ने जानकारी दिएको छ ।
हसिना गत वर्ष अगस्ट ५ मा अपदस्थ भएपछि भारत पुगेकी थिइन् । त्यसको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले अन्तरिम सरकार प्रमुखको रूपमा पदभार सम्हाल्दै हसिनालाई कानुनी सजाय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अन्तरिम सरकारले अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइरहेको छ ।
युनुसले आगामी फेब्रुअरीमा निर्वाचन गरिने र अवामी लिगलाई चुनावमा सहभागी हुन नदिइने बताउँदै बंगलादेशको राजनीतिक भविष्य ‘सङ्क्रमणको संवेदनशील मोड’ मा रहेको संकेत दिएका छन्