इजरायली आक्रमणमा २७ प्यालेस्टाइनीको मृत्यु, ७७ जना घाइते


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
1.2K
SHARES

४ मंसिर काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ)ले बुधबार गाजा सहर र खान युनिसमा हवाई आक्रमण गरेको छ । आक्रमणमा २७ को मृत्यु र ७७ जना घाइते भएका छन् ।यो आक्रमणको ठिक एक दिनअघि इजरायलले दक्षिणी लेबनानस्थित एक प्यालेस्टाइनी शरणार्थी शिविरमा हवाई हमला गरेको थियो ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापश्चात् हालसम्म इजरायलले गाजामा कुल ३९३ आक्रमण गरेको छ । यसक्रममा २९० को मृत्यु र ६७२ जना घाइते भएका छन् ।गएको महिना पनि हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आईडीएफले गाजामा आक्रमण गर्दा नौजनाको मृत्यु भएको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेनालाई गाजामा तत्काल र कडा आक्रमण गर्ने आदेश दिएका छन् । इजरायलले यसको जानकारी अमेरिकालाई पनि दिएको छ ।अर्कातिर, हमासले राफा क्षेत्रमा तैनाथ इजरायली सैनिकमाथि आरपीजी र स्नाइपर ‘फायर’ गरेको थियो ।त्यसपछि इजरायली रक्षामन्त्री इजरायल कात्जले हमासले यसको ठूलो मूल्य तिर्नुपर्ने भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

सन् २०२३ अक्टोबर ७ यता इजरायल–हमास द्वन्द्वमा परी ६९ हजार ५१३ जनाको मृत्यु भइसकेको छ । एक लाख ७० हजार ७४५ जना घाइते भएका छन् ।२०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी इजरायलमा एक हजार १३९ जनाको मृत्यु भएको थियो । २५० भन्दा धेरै मानिसलाई बन्धक बनाइएको थियो ।