थाइल्यान्डले गर्यो कम्बोडियामा हवाई आक्रमण
२२ मंसिर काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच फेरि युद्ध भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामका बाबजुद थाइल्यान्डले फेरि कम्बोडियाको सीमामा हवाई आक्रमण गरेको हो ।थाई सेनाका प्रवक्ता मेजर जनरल विन्थाई सुवारीले सोमबार थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमामा हवाई आक्रमण गरेको बताए । दुई देशबीचको सीमा विवाद गएको जुलाईमा पाँचदिने युद्धमा परिणत भएको थियो । त्यसपछि ट्रम्प र मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको पहलमा युद्धविराम सम्झौता गरिएको थियो ।
ट्रम्प अक्टोबरमा क्वालालम्पुरमा दुई देशबीचको विस्तृत युद्धविराम सम्झौतापत्रमा हस्ताक्षरका साक्षी बनेका थिए । तर, यो युद्धविराम दुई महिना टिक्न सकेन ।थाइल्यान्डको प्रमुख पत्रिका द नेसन ले रोयलसँग आर्मीका कमान्डरले थाई–कम्बोडियाली सीमाका विभिन्न क्षेत्रमा तनाव बढ्दो भएको जनाएका छन् ।
थाई सेनाले नियमानुसार जवाफ दिइएको र नागरिकको उद्धारमा सहयोग गर्न छिटो कदम चालेको जनाएको छ ।आइतबार लगातार लडाइँपछि कम्बोडियाली सैनिकले सी सा केट प्रान्तको कन्थारालक जिल्लास्थित फु फा लेक–प्लान हिन पेट कोन क्षेत्रमा आक्रमण गरेका छन् । आज बिहानै गोलाबारी, क्षेप्यास्त्र प्रहार तथा हवाई आक्रमण भएको छ ।
थाई सेनाका प्रवक्ता विन्थाईले सोमबार बिहान उबोन रत्चाथानी प्रान्तको नाम युएन जिल्लाको चोङचोङ आन क्षेत्रमा झडप भएको बताए । उनका अनुसार, कम्बोडियाली सैनिकले बिहान करिब ५ बजे गोलाबारी सुरु गरेका थिए ।रोयल थाई एयर फोर्स (आरटीएएफ)का प्रवक्ता एयर मार्सल जैक्रिट थम्माविचाईले हवाई आक्रमण सुरानारी टास्क फोर्ससँग समन्वयमा गरिएको बताए । उनका अनुसार, यो कम्बोडियाली सेनाका ती कारबाहीको जवाफ थियो, जसले थाइल्यान्डको राष्ट्रिय र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा तथा त्यहाँ कार्यरत थाई कर्मचारीलाई प्रत्यक्ष खतरा सिर्जना गरेको थियो ।
थाई सेनाले कम्बोडियाले भारी हतियार सीमामा पुर्याएको र लडाकु इकाइहरू तैनाथ गरेको दाबी गरेको छ ।कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार थाई सैन्य बलले प्रीह विहार प्रान्तको सीमामा कम्बोडियाली सैनिकमाथि निर्दयी र अमानवीय आक्रमणको शृंखला सुरु गरेको आरोप लगाएको छ । मन्त्रालयले यसलाई ६ हप्ताअघि हस्ताक्षरित द्विपक्षीय शान्ति सम्झौताको गम्भीर उल्लंघन भनेको छ ।
कम्बोडियाली सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल मैली सोचियाटाले डिसेम्बर ८ को बिहान करिब ५ बजे आन सेस क्षेत्रमा आक्रमण सुरु भएको बताए । उनका अनुसार, थाई सैनिकले कम्बोडियाली क्षेत्रमा गोलाबारी गरेका थिए । त्यसपछि थाई सेनाले टामोन थोम मन्दिर, प्रीह विहार मन्दिरनजिकैको पाँच मकारा क्षेत्र र चोमका चेकतिर ट्यांकबाट गोला प्रहार गरेको थियो ।
कम्बोडियाली पक्षले यी सबै कारबाहीलाई धेरै दिनदेखि भइरहेको उक्साहटका गतिविधिपछि गरिएको समन्वयात्मक आक्रमणका रूपमा वर्णन गरेको छ ।यी आक्रमणका बाबजुद कम्बोडियाले आफ्नो सेनाले अधिकतम संयम अपनाएको, जवाफी गोलाबारी नगरेको र शान्तिपूर्ण समाधान तथा अन्तर्राष्ट्रिय सम्झौताको पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।कम्बोडियाली कमान्डरले अवस्थामाथि पूर्ण सतर्कता र अत्यधिक सावधानीका साथ निगरानी गरिरहेको बताएका छन् ।