वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १८ २०८२
2.4K
SHARES

१८ पुस काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले पाउँदै आएको वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको तुलनामा यसपालि नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिबद्धता ७७.३८ प्रतिशतले घटेको छ ।

“वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म वैदेशिक सहायता प्रतिबद्धता १५ अर्ब १० करोड रुपैयाँ रहेको छ,” अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिबद्धता ६६ अर्ब ७६ करोड रुपैयाँ थियो ।अघिल्लो आर्थिक वर्षको तुलनामा यसपालि पहिलो तीन महिनामा नेपालले ५१ अर्ब ६६ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धता सबै अनुदान रहेको अर्थ मन्त्रालयले जनाएको छ ।“कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी ४५ प्रतिशत ऊर्जा क्षेत्रमा र सबैभन्दा कम प्रतिबद्धता शिक्षा क्षेत्रमा रहेको छ । चीन सरकारले स्वास्थ्य क्षेत्र र मानव संशाधन विकास क्षेत्रमा थप सहायता गर्ने प्रतिबद्धता जनाएको छ,” अर्थ मन्त्रालये भनेको छ ।

०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा प्राप्त कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी जर्मन सरकारबाट ४५.१ प्रतिशत छ । बाँकी सहायता प्रतिबद्धता जाइका, विश्व खाद्य कार्यक्रम, युरोपेली युनियन, कोइकालगायत निकायबाट प्राप्त भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये ४५.१ प्रतिशत ऊर्जा क्षेत्रमा छ । ९.३ प्रतिशत सार्वजनिक वित्त क्षेत्रमा छ । १७.२ प्रतिशत सडक पूर्वाधारमा छ । ७.३ प्रतिशत कृषि, मानव संशासन विकास र पर्यटनमा छ । २०.१ प्रतिशत जलवायु परिवर्तनमा छ । ०.८ प्रतिशत शिक्षा क्षेत्रमा छ ।

fadsgm-1767346048.jpg