राष्ट्र बैंकले घटायो नगद कारोबारको सीमा


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २७ २०८२
2.3K
SHARES

२७ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद कारोबारमा सीमा घटाएर नयाँ व्यवस्था गर्न निर्देशन जारी गरेको छ । आगामी माघ १ गतेदेखि लागू हुनेगरि बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरिएको हो ।उक्त निर्देशन अनुसार पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थामा भनिएको छ– इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले रु. ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नु पर्नेछ । साथै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरूको भुक्तानी समेत एकाउन्टपेयी हुनु पर्नेछ ।तर, प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरू, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने प्रष्ट पारिएको छ ।

विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन । सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफ्ना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ ।सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो ।