बैंकवित्तमा कर्जा असुलीको चटारो
३० पुस काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम कार्यमा जुटेका छन् । पुस मसान्तले गर्दा बैंकिङ क्षेत्र चटारोमा जुटेको छ । त्रैमासिक वित्तीय विवरण तयार गर्ने कार्य भइरहेको छ । जसका लागि सबै जसो डिपार्टहरु व्यस्त छन् । कर्जा असुलीको कार्यमा भने पहिला जस्तो सजिलो छैन । अर्थतन्त्र सुस्तदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता र ब्याज असुलीमा कठिनाइ बढेको छ। त्यसको सीधा प्रभाव अहिले बैंक कर्मचारीदेखि व्यवस्थापन तहसम्म पुगेको छ। ग्राहकबाट किस्ता नउठ्दा कर्मचारीहरू तीव्र प्रेसर र असुरक्षाको मनोविज्ञानमा बाँधिन थालेका छन्। कर्मचारी माथि अभद्र व्यबहार गर्ने, कर्जा उठाउन नदिने जस्ता कार्यले थप समस्या निम्तिएको छ । केही बैंकका कर्मचारी माथि लगातार धम्की दिने काम भइरहेको छ । विभिन्न नाम र बहानामा व्यबसायी दुर्गा प्रसाई समुहले कर्जा नतिर्न भित्र भित्र ऋणीलाई उकास्ने काम भएकोले पनि थप समस्या बढेको छ ।
कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दी र त्यसपछिका राजनीतिक अस्थिरताले निजी क्षेत्रको लगानी घटाएको छ। उत्पादन र व्यापार सुस्त हुँदा ऋण लिने ग्राहकहरूको आय घटेको छ। अझ जेनजी आन्दोलनपछि बैंकिङ क्षेत्रले ठूलो दबाब र अनिश्चितताको सामना गरिरहेको छ । चालु आर्थिक वर्षको ६ महिना पुग्न थाल्दा नियमित किस्ता र ब्याज तिर्नुपर्ने ऋणीहरूले तिर्न सकेका छैनन् । यसले बैंकहरूलाई थप तनावमा पुर्याएको छ । जेनजी आन्दोलनपछि कर्जा असुलीमा समस्या मात्र होइन्, नयाँ लगानी र परियोजना समेत अगाडि बढ्न सकेको छैन ।
पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासमा ऋण असुलीमा चुनौती देखिएको थियो। तर, यस वर्ष जेनजी आन्दोलनको प्रभाव, भारी वर्षा र सडक अवरुद्धका कारण स्थिति अझ बिग्रिएको छ । ऋणीहरूले नियमित ब्याज तिर्न नसक्दा बैंकहरूको नाफा घट्ने चिन्ता बढेको छ।
जेनजी आन्दोलनपछि बैंकिङ क्षेत्रमा प्रभाव
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले निजी क्षेत्रमाथि प्रत्यक्ष आर्थिक र भौतिक क्षति पुर्याएको छ । जसअनुसार, १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको स्वीकृत कर्जामध्ये १ खर्ब ४ अर्ब मात्र उपयोग भएको छ र त्यसमा ३७ अर्ब रुपैयाँको नोक्सानी भएको तथ्यांक छ । उद्योग, ब्याकवार्ड र फवार्ड लिङकेज भएका व्यवसायहरूले समेत ठूलो क्षति भोगेका छन् ।
आन्दोलनपछि ऋणीहरूले कर्जा असुलीमा जेनजीको नाममा धम्की दिने, विभिन्न बहाना बनाउने जस्ता चुनौतीपूर्ण व्यवहार देखाएको समेत बैंकरहरु बताउँछन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिर्ने वाचा गरेका भए पनि बिक्री हुन नसकेको वा मालपोत कार्यालयमा आगजनी जस्ता कारण देखाउँदै ऋण तिर्न असमर्थ भएको तर्क गरेका छन् । ऋण असुलीमा बैंकहरु कठिन अवस्थामा पुगेका छन् । नियमित ब्याज तिर्नेहरूले समेत समस्या देखाउँदा बैंकिङ क्षेत्रको चुनौती बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले ऋणीबाट असुली नभएका कर्जालाई सुरक्षा धितो बिक्री वा स्वीकार गर्ने प्रक्रिया अपनाउँछन् । तर, सरकारले जग्गा स्वीकारको सीमा हटाएपछि बैंकहरूले गैर बैंकिङ सम्पत्ति उल्लेख्य बढाएको तथ्यांक छ । गत आर्थिक वर्षको तुलनामा ६१।७३ प्रतिशत गैर बैंकिङ सम्पति बढेको छ । बैंकहरूले कर्जा नउठेपछि नाफाबाट रकम छुट्याएर खराब कर्जा व्यवस्थापन गर्दै आएका छन् । यदि धितो लिलाम बिक्री नभएमा बैंकले आफैँ स्वीकार गर्नुपर्छ । यसरी स्वीकार गरिएको धितो गैर बैंकिङ्ग सम्पत्तिमा रूपान्तरण हुन्छ ।