१०० प्रतिशत ‘ट्यारिफ’ लगाउँछु – ट्रम्प
११ माघ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यति बेला क्यानडासँग निकै क्रुद्ध भएका छन् । क्यानडाले चीनसँग व्यापारिक सम्झौता गरे क्यानाडेली वस्तुमा १०० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने ट्रम्पले धम्की दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो चेतावनी दिएका हुन् । विशेष गरी क्यानाडेली प्रधानमन्त्री मार्क कर्नीले डाभोसमा अमेरिकी प्रभुत्व घट्दै गएको र नयाँ विश्वव्यवस्थाको आवश्यकता रहेको बताएपछि ट्रम्प रिसाएका भएका हुन् ।
‘गभर्नर कर्नी’ भन्दै व्यंग्य
ट्रम्पले प्रधानमन्त्री कर्नीलाई ‘गभर्नर कर्नी’ भन्दै कटाक्ष गरेका छन् । यसको अर्थ उनी क्यानडालाई अमेरिकाको ५१औँ राज्यका रूपमा हेर्छन् । ट्रम्पले लेखेका छन्, “यदि, गभर्नर कर्नीले क्यानडालाई चीनका निम्ति सामान उतार्ने बन्दरगाह बनाएर त्यहाँबाट सामान अमेरिका पठाउन सकिन्छ भन्ने सोचेका छन् भने उनी गलत छन् ।” उनले चीनले क्यानडालाई ‘जिउँदै निल्ने’ र यसले उक्त देशको समाज र जीवनशैली ध्वस्त पार्ने चेतावनी समेत दिएका छन् ।
क्यानडा र चीनबीचको सम्झौता के हो ?
गएको जनवरी १६ मा क्यानडा र चीनबीच एक महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ, जसलाई दुई देशबीचको सम्बन्ध सुधारको कदम मानिएको छ । क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडीमा लाग्ने १०० प्रतिशत अतिरिक्त ट्यारिफ हटाउने निर्णय गरेको छ । अब वार्षिक ४९,००० चिनियाँ ईभी मात्र ६.१ प्रतिशत सामान्य ट्यारिफमा क्यानडा भित्र्याउन सकिन्छ ।
त्यसको बदलामा चीनले क्यानाडेली तोरीको बीउमा लाग्ने ८४ प्रतिशत ट्यारिफलाई घटाएर १५ मा झार्नेछ । मटरलगायत उत्पादनमा ट्यारिफ पूर्ण रूपमा हटाउने वाचा गरिएको छ । क्यानडाले चीनबाट स्वच्छ ऊर्जा प्रविधि प्राप्त गर्ने अपेक्षा गरेको छ ।
क्यानडाको कडा जवाफ
प्रधानमन्त्री मार्क कर्नीले डाभोसमा ट्रम्पको आरोपको जवाफ दिँदै भने, “क्यानडा अमेरिकाका कारणले जितेको होइन । क्यानडा क्यानाडेली भएकै कारणले फस्टाएको हो ।”
उनले क्यानडाको सार्वभौमसत्ता र स्वतन्त्रतामा जोड दिँदै ठूला देशले साना मुलुकलाई दबाब दिन नहुने बताए । यसैको प्रतिशोधस्वरूप ट्रम्पले कर्नीलाई आफ्नो नयाँ ‘बोर्ड अफ पिस’मा सामेल हुन दिएको निमन्त्रणा समेत फिर्ता लिएका छन् ।
क्यानडालाई ५१औँ राज्य बनाउने दाबी
ट्रम्पले यसअघि पनि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने बताएका थिए । उनले एउटा नक्सा समेत सेयर गरेका थिए, जसमा क्यानडा, ग्रीनल्यान्ड, भेनेजुएला र क्युबालाई अमेरिकाको हिस्साका रूपमा देखाइएको थियो । ट्रम्पको दाबीअनुसार, क्यानडा ‘गोल्डेन डोम’मा सामेल हुन चाहन्छ र यो सन् २०२९ सम्ममा तयार हुनेछ ।
यो विवादले अमेरिका र क्यानडाबीचको दशकौँ पुरानो मित्रतामा गम्भीर संकट पैदा गरेको छ । ट्रम्प चीनको बढ्दो प्रभाव रोक्न चाहन्छन् भने क्यानडाले उनको दबाबका अगाडि झुक्न अस्वीकार गरिरहेको छ ।