लिभरपुल छाड्दै सलाह


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
1.3K
SHARES

११ चैत काठमाडौं। इजिप्टका फरवार्ड मोहम्मद सलाहले मंगलबार यस सिजनको अन्त्यमा लिभरपुल छाड्ने घोषणा गरेका छन्। क्लबका इतिहासकै उत्कृष्ट गोलकर्तामध्ये एक ३३ वर्षीय सलाहले सम्झौता समाप्त हुन एक वर्ष बाँकी रहँदै टोली छाड्ने निर्णय गरेका हुन्।

सलाहले लिभरपुलका लागि ४३५ खेलमा २५५ गोल गरेका छन्। प्रिमियर लिग विजेता लिभरपुलले दुबै पक्षबीच ‘सम्झौता’ भई उनी टोलीबाट अलग हुने जनाएको छ।

सामाजिक सञ्जालमार्फत भावुक सन्देश

सलाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्भाग्यवश यो दिन आएको छ। यो क्लब, यो सहर र यहाँका मानिसहरू मेरो जीवनको यति ठूलो हिस्सा बन्नेछन् भन्ने मैले कहिल्यै सोचेको थिइनँ। लिभरपुल केवल फुटबल क्लब होइन, यो भावना, इतिहास र आत्मा हो।’

लिभरपुलले सलाहलाई ‘क्लब इतिहासका महान खेलाडीमध्ये एक’ भनेको छ। उनले सन् २०१७ मा एएस रोमाबाट क्लबमा आबद्ध भएपछि आठ उपाधि जितेका छन्, जसमा दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिग समावेश छन्।

त्यस समय उनले साडियो माने र रोबर्टो फिरमिनोसँग मिलेर प्रशिक्षक युर्गेन क्लोप अन्तर्गत घातक अग्रपंक्ति बनाएका थिए।

सलाह लिभरपुलका सर्वाधिक गोलकर्ताको सूचीमा इयान रश र रोजर हन्टपछि तेस्रो स्थानमा छन्। उनले चार पटक लिगको सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जितेका छन्।

प्रशिक्षकसँग विवाद

यस सिजनमा प्रशिक्षक आर्ने स्लटसँग सार्वजनिक विवाद भएपछि केही समर्थकबीच उनको विरासत प्रभावित भएको मानिन्छ।डिसेम्बरमा लिड्स युनाइटेडविरुद्धको खेलमा बेन्चमा राखिएपछि उनले ‘दोष आफूमाथि थोपर्ने प्रयास भएको’ बताएका थिए।

अफ्रिका कप अफ नेसन्सपछि टोलीमा फर्किए पनि सलाह उत्कृष्ट लयमा फर्कन सकेनन्। गत साता गालाटासारेविरुद्धको च्याम्पियन्स लिग खेलमा मांसपेशी चोट लागेपछि उनी हाल मैदान बाहिर छन्।

लिभरपुलको सिजनको अन्तिम लिग खेल मे २४ मा ब्रेन्टफोर्डविरुद्ध एनफिल्डमा हुनेछ। सायद उक्त खेल नै सहालको विदाई खेल हुनेछ। च्याम्पियन्स लिग क्वाटरफाइनलमा लिभरपुलले पेरिस सेन्ट–जर्मेन सँग प्रतिस्पर्धा गर्नेछ।