घोराही–लमही सडक विस्तार सुरु


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
1.2K
SHARES

१६ चैत दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो । चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना हुँदै आएका थिए । अब भने दुर्घटनाको जोखिम बढिरहेको समयमा सडक विस्तारसँगै मोड सुधारले यातायातका साधन सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।

लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने सडक विस्तारको काम भइरहेको कार्यालय प्रमुख विष्टले बताए । साँघुरा स्थानमा सडकको चौडाइ बढाउने र बढ्दो सवारी चापलाई व्यवस्थित बनाउँदै आवागमन सहज बनाउने उद्देश्यअनुसार माटो कटिङदेखि काट्न नमिल्ने ठाउँमा पर्खाल निर्माण गरेर सडक बढाउने काम भइरहेको छ । सडकलाई फराकिलो बनाउने गरी विस्तारको काम भइरहेको जनाउँदै उनले भने, “लमही–घोराही सडकलाई खुला गर्नेगरी सडक विस्तारको काम भइरहेको छ ।”

घोराही–लमही सडकखण्डअन्तर्गत, घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किमि सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत, विभिन्न मोडहरूमा सुधारदेखि साँघुरो स्थानमा कटिङ र पर्खाल निर्माणको काम भइरहेको छ । सडक सुधारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा २० करोड १३ लाख ५९ हजार रुपैयाँबराबरका तीनवटा ठेक्का सम्झौता गरी साँघुरो सडकलाई खुला बनाउने काम भइरहेको प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार, घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केवी–सुनील एन्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड ६ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्ने गरी श्री इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको छ ।  चालु आर्थिक वर्षमै सडक सुधारको काम सक्नेगरी चौपट्टादेखि अर्जुनखोलासम्मको सडकमा काम भइरहेको उनले बताए ।